सूचना प्रविधि

सञ्चार मन्त्रालयले गर्यो सबै सञ्चार माध्यामहरुलाई यस्तो आग्रह

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले मुलुकका विभिन्न भागमा अविरल वर्षाबाट आएको बाढीपहिराका कारण भएको ठूलो जनधनको क्षति र विपत्तिका अवस्थामा उच्च सतर्कता तथा क्रियाशीलताका साथ काम गर्न र सत्यतथ्य सूचना संकलन तथा सम्प्रेषण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी विपद्का बारेमा स्थलगत समाचार एवं विवरण संकलन गरेर तथा जिल्लास्थित विपद् व्यवस्थापन समिति, कमाण्ड पोष्ट, क्षेत्रीय प्रशासन कार्यालय, स्थानीय प्रशासन र सुरक्षा समितिसँग समन्वय गरेर सत्यतथ्य सूचना संकलन गरी प्रकाशन प्रसारण गर्न आग्रह गरिएको छ ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले सोमबार  जारी गरेको विज्ञप्तिमा विपद्का बारेमा सूचना एवं विवरण संकलन गर्न फिल्डमा खटिएका सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउन र सूचना संकलन गर्नका लागि आवश्यक सहयोग गर्न जिल्लास्थित सबै सरकारी निकायलाई अनुरोध गरिएको छ । ।

बाढीपहिराबाट क्षति भएका सडक मर्मत हुन लाग्ने समय, मर्मत हुन नसक्ने भएको अवस्थामा गरिएको वैकल्पिक व्यवस्था र बाढीपहिराले क्षति पु¥याएको स्थानमा तत्काल निजी वा सार्वजनिक भौतिक संरचना निर्माण गर्न हुने वा नहुनेबारे सम्बन्धित निकायको भनाइसहितको समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

हालैको अविरल वर्षाका कारण आएको बाढीपहिराबाट भएको जनधनको क्षतिको सबै सूचना तथा जानकारी र विपद्का बारेमा सतर्कता दिने गरी नेपाल टेलिकम तथा अन्य दूरसंचार प्रदायकले शुरु गरेको एसएमएस सेवाप्रति धन्यवाद दिँदै मन्त्रालयले उक्त सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिन अनुरोध गरेको छ ।