स्वास्थ्य

स्वास्थ्यकर्मीको मीठो बोली र हँसिलो व्यवहारले बिरामीको आधा रोग निको हुन्छः राष्ट्रपति

काठमाडौँ । “मैले कोशी अञ्चल अस्पतालमा दुई सन्तानलाई जन्म दिएको थिएँ, मलाई अहिले पनि ती दिनका सम्झना आइरहन्छ, आँखा अगाडि ती दिन सजीव छन् । तीता मीठा अनुभव छन् ती दिनका । डा.कस्तुरी मल्लले मलाई पहिलो सन्तान जन्माउन चिकित्सकीय सहयोग गर्नुभएको थियो ।”

प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले भावुक हुँदै आफ्ना विगतका स्मरणलाई सुनाइन् । प्रसूति तथा नवजात शिशु उपचार गर्ने र ती उपचारका लागि अन्यत्र ‘रिफर’ नगर्ने एक मात्र अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ५८ औँ वार्षिकोत्सवका अवसरमा अस्पतालको आँगनमा आयोजित कार्यक्रमलाई राष्ट्रपति भण्डारी सोमबार सम्बोधन गर्दै थिइन् ।

“म राष्ट्रपतिको पदबाट भन्दा आफ्नो जीवनको भोगाइलाई यहाँ व्यक्त गरिरहेको छु, तपाईं चिकित्सक, स्वास्थ्यकर्मीका मीठो बोली र हँसिलो व्यवहारले मात्र पनि सेवा लिन स्वास्थ्य संस्थामा आउने बिरामीको आधा रोग निको हुन्छ”, राष्ट्रपति भण्डारीले भनिन् ।

उनले अगाडि भनिन्, “मैले सुनेको छु, प्रहरीको मुस्कानसहितको सेवाले प्रहरीप्रति आम जनताको धारणामा परिवर्तन आएको छ, अब चिकित्सक एवं स्वास्थ्यकर्मीले पनि प्रेमपूर्वक मुस्कानसहितको सेवा आवश्यक हुन्छ कि ।”

राष्ट्रपति भण्डारीले आफूले सो अस्पतालमा पटक पटक सेवा लिन आएको स्मरण गर्दै त्यहाँको प्रसूति, स्त्रीरोग तथा नवजात शिशु सेवा राम्रो रहेको हुँदा यसलाई जिल्ला तथा स्थानीय तहसम्म विस्तारका लागि ध्यान दिन आग्रह गरिन् ।

उनले मातृ शिशु र प्रजनन स्वास्थ्य राष्ट्रको स्वास्थ्यसँग पनि गाँसिएको हुँदा यस क्षेत्रमा लगानी वृद्धि गर्न तथा महिलाको समग्र स्वास्थ्य स्थितिमा सुधार ल्याउन पोषण, खानपान र विवाहमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले अस्पताललाई आवश्यक आर्थिकलगायत सबै सहयोग पु¥याउन मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए । अस्पतालका निर्देशक प्रा डा अमिरबाबु श्रेष्ठले अस्पतालले आफ्नै औषधालय सञ्चालनमा ल्याएको, प्रसूति नर्सिङ तहमा प्रवीणता तहको अध्यापन शुरु हुन लागेको र महिलाको पाठेघरको अर्बुद रोग पत्ता लगाउने एलबिसी सेवा शुरु भएको जानकारी दिए । अस्पताल विकास समितिका अध्यक्ष डा लता वज्राचार्यले अस्पतालका सेवालाई अझ चुस्त बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।

वि।सं २०१६ कृष्णाष्टमीका दिन ४० श्ययाबाट शुरु भएको सो अस्पताल ४१५ श्यया सञ्चालनमा ल्याए पनि विसं २०७२ को भूकम्पले भवनलाई क्षति पुर्याएपछि हाल ३५० श्ययामा खुम्चिन बाध्य भएको छ । जापान सरकारले भत्किएको भवन निर्माणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाइसकेको छ ।

गत वर्ष अस्पतालमा भर्ना भएका कूल २५ हजार ४६३ मध्ये १८ हजार ९२७ ले अस्पतालमा शिशु जन्माएका थिए । बच्चा जन्माएकामध्ये पाँच हजार १८७ को शल्यक्रिया भएको थियो ।

हाल अस्पतालमा दैनिक ५२ जनाले शिशु जन्माउने र त्यसमा १४ जनाको शल्यक्रिया हुने गर्छ । अर्कातर्फ अस्पतालमा पूर्ण स्तनपान नीति छ । गत आवदेखि नवजात शिशु निःशुल्क उपचारसमेत शुरु भएको छ ।

यसैगरी अतिविपन्न तथा अर्थ अभाव भएकाहरुलाई निःशुल्क सेवासमेत प्रदान गरिरहेको छ । गत आवमा ५०८ महिलाले सो सेवा लिएका थिए । सो अवसरमा अस्पतालमा सेवा गरेका चिकित्सक, स्वास्थ्यकर्मी दीर्घ सेवापदक तथा नवजात शिशु तथा शिशुलाई पुरस्कृत गरिएको थियो ।