खेलकुद

पाथीभरा गोल्डकपको उपाधि चर्च ब्वाइज काठमाडौँलाई

ताप्लेजुङ । ताप्लेजुङमा आज सम्पन्न दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाण्डौले हात पारेको छ । सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भएको फाइनल खेलमा सगरमाथा युवा क्लब विराटचोक मोरङलाई शुन्यका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाण्डौले हात पारेको हो ।

चर्च ब्वाइजका लागि पहिलो मध्यान्हअन्तर्गत १२ औं मिनेटमा जर्सी नं ११ का जाङ्बु शेर्पाले गोल गर्दै आफ्नो टिमलाई उत्साहजनक बनाएका थिए । यस्तै खेलको दोस्रो मध्यान्हअन्तर्गत १९ औँ मिनेटमा जर्सी नं १९ का राज कुमार पौडेलले र ३९ औँ मिनेटमा जर्सी नं १८ का राजकुमार कन्दङ्वा लिम्बूले तेस्रो गोल गरेका थिए । यता उपविजेता बनेको सगरमाथा निकै प्रयासरत रहे पनि गोल गर्न सकेन ।

विजेता समूहले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु दुई लाख ११ हजार १११ र उपविजेता बनेको सगरमाथा युवा क्लब विराटचोक मोरङले मेडल, प्रमाणपत्र र नगद रु एक लाख ११ हजार १११ हात पारेको छ ।

खेलको समापन कार्यक्रममा विजेता र उपविजेता समूहलाई लाखे जात्रा खेल सञ्चालन समितिका कार्यवाहक अध्यक्ष नारायण थापा, जिल्ला समन्वय समितिका सभापति घनेन्द्र मादेन लगायतले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको जिल्ला फुटबल संघका अध्यक्ष मोती पतंवाले जानकारी दिए ।

जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा लाखेजात्रा खेल सञ्चालन समितिको आयोजनामा गत साउन २२ गते बाट प्रतियोगिता सञ्चालन भएको थियो ।

विसं २०२९ देखि निरन्तररुपमा लाखे जात्राका अवसरमा खेलाइदै आएको यस प्रतियोगितामा यो पटक घरेलु दुई समूहसहित १० समूहको सहभागिता रहेको लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिएका छन् ।