स्वास्थ्य

भिषण बाढीले क्षति पुर्याए लगतै स्थानिय बासिन्दाहरुमा विभिन्न किसिमका रोगको प्रकोप

सप्तरी, ३० साउन । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन् ।

बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क्षेत्रमा झाडापखाला टाइफाइड, ज्वरो, रुघाखोकी श्वासप्रश्वास, जिउ चिलाउने रोग फैलिएको स्थानीयवासीले बताएका छन् ।

सप्तरीकोे राजविराज, हनुमाननगर, शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बरसाइन, सकरापुर, बोदेवरसाइन, रुपनी, कंचरुप नगरपालिका सकरदही, जोगिनीया, भारदह, इनरुवा, किरपुरा, डलुवा बेलहीलगायतका ग्रामीण तथा बजार क्षेत्रमा विभिन्न किसिमका उक्त रोगको प्रकोप फैलिएको हो ।

विभिन्न रोग फैलिएका ती गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी एवं चिकित्सक देखा नपरेको र औषधिसमेत अभाव रहेको सकरपुराका शिक्षक विपिन्न झाले गुनासो गरे । आफू उपचार गराउन जाँदा कुनै चिकित्सक फेला नपरेको उनले बताए ।

सप्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्रमा कटान र डुबानका कारण पक्की घर भएका छतमा बसेका छन्, भने खपडा टिन र फुसका घर भएका बासिन्दा घर छोडेर खुला आकासमुनि सडकको छेउछाउमा बस्न बाध्य भएका कारण महिला, बालबालिका तथा वृद्ववृद्वामा स्वास्थ्य समस्या परेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकले बताएका छन् । सो अस्पतालमा उपचारका लागि बाढीपीडित आउने गरेको बताइएको छ ।

यस सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र चौधरीसँग सम्पर्क हुन सकेन । तर कार्यालयका कर्मचारीका अनुसार सम्बन्धित स्वास्थ्य चौकीका इन्चार्जलाई चौकीमा बस्न र बाढीपीडितका लागि सेवामा कमी हुन नदिन निर्देशन गरिसकेको बताइएको छ ।

बाढीका कारण ग्रामीण क्षेत्रका ठाउँठाउँमा बाटो फुटेको र तोडफोडले गर्दा सडक क्षतिग्रस्त भएकाले सवारी साधन आवतजावतमा समस्या भएका कारण राजविराज सदरमुकाम आउन पनि समस्या भएको बिरामीको गुनासो छ ।

छ दिनदेखि परेको वर्षाले सप्तरीको मोहुली, खाँडो, जिता, बिगुल त्रियुवा, खडक नदी र सप्तकोशी नदीमा आएको भीषण बाढीका कारण सप्तरीका करिब चार हजारभन्दा बढी घर डुबानमा परेको जनाएको छ ।

बाढीबाट डुबानमा परेका एवं विस्थापित भएका परिवारका लागि उद्वार एवं राहत वितरण जारी रहेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

सप्तरीमा बाढीबाट हालसम्म एकजना बेपत्ता भएका छन् भने ७५ प्रतिशत घरपरिवार बाढीबाट प्रभावित भएको अनुमान छ । राजविराज नगरपालिका–९ स्थित मलेठमा बाढीले नहर भत्काएको छ । राजविराज रुपनी सडक खण्डको पाँचकिलो भने ठाउँमा समेत सडकको भित्री भागमा बाढीले कटान गरेकाले सो सडकमा यात्रा गर्न कठिन भएको छ ।

ग्रामीण क्षेत्रका अधिकांश बाटो क्षतिग्रस्त भएको छ । राजविराज–१ स्थित पम्पकिनालको नहर भााँसिदा ठूलो क्षति पुगेको चन्द्रनहर सिँचाइ डिभिजन कार्यालयका प्रमुख प्रसुन मिश्राले बताए ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित रहेको पश्चिम नहर पनि भत्केको छ । लगातारको पानीका कारण बाढी आउँदा तीन दिनदेखि बाढीपीडित भोकभोकै बसेको स्थानीयवासी श्यामसुन्दर खड्काले जानकारी दिए ।

घर आगनमा चार फिटसम्म पानी जमेपछि नहरको बाँधमा बस्न बाध्य रहेको गुनासो गरे । यसैबीच सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवा, रामपुरा र मलहनीयालगायत बाढीपीडित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सो प्रशासन कार्यालयले बाढीपीडित क्षेत्रमा सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा विभिन्न गैरसरकारी संस्था पनि खटाएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

यसैबीच बाढी आएसँगै सप्तरी जिल्लामा नेपाल टेलिकमले वितरण गरेको डिसिएल नेट, मोबाइल र टेलिफोन विगत तीन दिनदेखि अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय पत्रकारलाई समाचार सम्प्रेषणमा समेत समस्या भएको ग्रीण मधेस दैनिकका प्रशासक एवं सम्पादक श्रवणकुमार देवले गुनासो गरे । साथै, सदरमुकाम राजविराजको केही भागलगायत ग्रामीण क्षेत्रमा विद्युत् सेवासमेत ठप्प रहेको बताइएको छ ।

यसैबीच जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले सप्तरीको बाढीपीडितको अवस्था र डुबान र कटानको अवस्था बुझ्न हेलिकप्टरबाट राजविराज आएका छन् । मन्त्रीद्वयको बाढीपीडितको अवस्थाबारे स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जिप्रकाबाट थाहा भएको छ ।