पु.समाचार

बाढीका कारण सुनसरीमा थप दुईको मृत्यु, तीन हजार पाँच सय स्थानीयवासी डुबानमा

इनरुवा, ३० साउन । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ ।

शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु भएको थियो भने सोमबार बिहान थप दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भोक्रहा गाउँपालिकाका ढोढिया मण्डल र साझोदेवी ऋषिदेव रहेको सुनसरी प्रहरीले जनाएको छ ।

दुई जनाको मृत्यु भएको मात्र जानकारी आएको र पहिचान नखुलेको प्रहरीको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा गरी सात हजार बढी स्थानीय विस्थापित भएका छन् ।

बाढीबाट भोक्राहा गाउँपालिका–५ नरसिंह टपरा पूर्ण डुबानमा परेको छ । हरिनगरा गाउँपालिका–१, २ रामनगरभुटाहा–३ र ४ गौतमपुर र हरिनगरा क्षेत्रमा समेत सयौंँ घर डुबानमा परेका छन् ।

उता हरिनगरा–५ वसन्तपुरमा समेत गाउँभरि तीनदेखि सात फिटसम्म पानी जमेकाले दुई दिनदेखि स्थानीयवासी भोकभोकै बसेको नेकपा (माओवादी केन्द्र)का नेता मोहन यादवले जानकारी दिए ।

वसन्तपुर र नरसिंह सीमा क्षेत्रमा ६०० घर पूर्ण डुबानमा परेको छ । धेरै स्थानीयवासी उद्धारको प्रतीक्षामा छन् । बाढीमा फसेका र जोखिममा परेकाकालाई सचेत भएर सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।

त्यसैगरी कोशी गाउँपालिका–१, २, ३ र ५ नम्बर वडासमेत पूर्ण डुबानमा परेका छन् । यता सुनसरीका देवानगञ्ज, गढी र बर्जु गाउँपालिकको समेत धेरै वडा पूर्ण डुबानमा परेको स्थानीयवासीले जनाएका छन् ।

यहाँका तीन हजार पाँच सय स्थानीयवासी डुबानमा परेका छन् । स्थानीयवासी अर्जुन मेहताका अनुसार कप्तानगञ्ज, साहेवगञ्ज क्षेत्र पूर्णरुपमा डुबानमा परेका छन् । विद्युत् सेवा तीन दिनदेखि अवरुद्ध रहेको छ ।

अविरल वर्षा र खोलानालामा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अधिकांश स्थानमा जलमग्न भई यातायात अवरुद्ध भएको छ । नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण सदरमुकाम इनरुवामा रहेका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला पशुसेवा कार्यालयलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् ।