राजनीति

चिनियाँ उपप्रधानमन्त्री याङ नेतृत्वको टोली काठमाण्डौ अवतरण गर्दै, नेपालले गर्यो यस्तो तयारी

काठमाण्डौ । सोमबार चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको टोली काठमाण्डौ आइपुग्दैछ । उपप्रधानमन्त्री याङको टोली पाकिस्तान हुँदै काठमाण्डौ आउन लागेको हो ।  चीनको यो करिब ६ वर्षपछिको उच्चस्तरीय भ्रमण हो । उपप्रधानमन्त्री याङ नेतृत्वको टोली बेलुकी ६ः१५ बजे काठमाण्डौ अवतरण गर्ने जनाइएको छ ।

विशेष विमानबाट काठमाण्डौ आउन लागेको सो भ्रमण टोलीमा उपप्रधानमन्त्री याङसहित १० सदस्य रहेको जनाइएको छ । भ्रमण टोलीलाई काठमाण्डौस्थित होटल सोल्टीमा बस्ने व्यवस्था मिलाइएको जनाइएको छ । ६२ वर्षीय उपप्रधानमन्त्री याङ चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य समेत हुन् ।

काठमाण्डौ भ्रमणमा रहँदा उपप्रधानमन्त्री याङले बसन्तपुरस्थित नौतले दरबार पुननिर्माणको शिल्यान्यास समेत गर्ने जनाइएको छ । सो दरबार पुननिर्माणका लागि चीनले अनुदान उपलव्ध गराईसकेको छ ।

काठमाण्डौको बसाईका क्रममा उपप्रधानमन्त्री याङको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतका उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्ने जनाइएको छ ।  भेटवार्तामा चीनले अघि सारेको वान बेल्ट, वान रोडको अवधारणाका विषयमा समेत छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ पहिलो हप्ता गर्ने भारत भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ उपप्रधानमन्त्री याङ नेतृत्वको टोलीको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।