मनोरञ्जन

चुडामणिको नाम लिँदै द्वन्द्व निर्देशकको चेतावनीः ‘जनताको धैर्यताको बाँध फुट्दैछ !’

काठमाण्डौ । नेपाली सिने जगतका चर्चित द्वन्द्व निर्देशक हुन् योगन्द्र श्रेष्ठ । जसले सो क्षेत्रमा लामो समय व्यतित गरेका छन् । दर्जनाँै सिनेमाहरुमा द्वन्द्व निर्देशकको रुपमा काम गरिसकेका उनले नेपाली चलचित्र क्षेत्र र त्यसमा आबद्ध कलाकारहरुको स्थिति दिनप्रतिदिन ओरालो लाग्नुमा मुलुकको राजनीति र सामाजिक अवस्थाले प्रभाव पारेको बताएका छन् ।

सुर्यखबर डटकमसँगको कुराकानीमा निर्देशक श्रेष्ठले नेपालको चलचित्र क्षेत्रको अवस्था नाजुक हुँदै जानुमा राज्यले सिस्टम बनाउन नसक्नुको कारणलाई दोषी ठहर्याए ।

उनले भने, ‘राज्यले सिस्टम त बनाउन खोज्यो तर उसले चलचित्र क्षेत्रलाई हेर्ने निकाय चलचित्र बोर्डलाई भनेजति अधिकार दिएन, त्यसैले यो क्षेत्रमा नराम्रो प्रभाव पर्न गयो ।’ नेपालमा राजनीतिक चलखेल धेरै भएको बताउँदै उनले यसले नेपाली चलचित्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बदनाम गरेको बताए ।

चलचित्र क्षेत्रमा लाग्ने कलाकारहरुको अवस्था समेत निकै नाजुक रहेको बताउँदै उनले यो क्षेत्रमा भविष्य नदेख्दा अधिकांश कलाकारहरु विदेशिनुपर्ने अवस्थामा पुगेको समेत उनले स्पट पारे ।

उनले भने, ‘हामीले देखिरहेका छौ, छिमेकी मुलुकहरुमा सिने क्षेत्रले कसरी प्रगति गरिरहेको छ, त्यहाँको यो क्षेत्रको फिगर निकै राम्रो छ तर नेपालमा त्यस्तो देखिएन, त्यसैले सिनेकर्मीहरु विदेशीन वाध्य भएका छन् ।’

केहि चलचित्र समेत निर्माण गरे र चलचित्र निर्माताको रुपमा समेत परिचय बनाएर दर्जनौमा द्वन्द्व निर्देशन गरेका श्रेष्ठले चलचित्र बजार हेर्दा कहिलेकाँही आफूलाई जाँगर मर्नेे गरेको खुलस्त पारेका छन् ।

उनले नेपालमा फिल्म निर्माण गरेर पैसा उठाउनै गाह्रो हुने बताए । उनले दुखेसो पोखे, ‘दुःख गरेर फिल्म निर्माण गर्यो, ‘त्यसलाई चलाउन हल मालिकदेखि सबैलाई नफकाए चल्दै चल्दैन । त्यसैले मैले धेरै फिल्म बनाइन, यसमा पैसा उठाउनै गाह्रो छ ।’

सिनेकर्मी सबै राजनीतिमा लागेपछि असर देखियो !
निर्देशक श्रेष्ठका अनुसार नेपालमा पछिल्लो समयमा ह्वात्तै राजनीतिको प्रभाव बढ्यो । त्यसको प्रत्यक्ष असर नेपाली चलचित्र क्षेत्रमा पनि पर्यो । सबै सिनेकर्मीहरु आ–आफ्नै ढंगले राजनीतिक दलहरुमा आबद्ध हुन थाले । बेला–बेलामा हुने गरेका राजनीतिक परिवर्तनका कारण सरकार परिवर्तन भैरहेर राजनीतिक अस्थिरता रहेका काणले पनि प्रभाव यो क्षेत्रमा परेको उनले बताए ।

विशेषगरी नेपाली चलचित्रलाई स्थापित गराउन सञ्चारमन्त्रालयले समेत प्रभावकारी कार्यक्रमहरु नल्याएको उनको गुनासो छ । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्र क्षेत्रलाई पुर्याउन सकिने ब्यापक सम्भाबना भएपनि उक्त कुराका लागी सम्बन्धीत निकाय लाग्न नसकेकोमा दुःख समेत ब्यक्त गरेका छन् । मरोरञ्जन वा चलचित्र क्षेत्र राष्ट्रको साझा विषय हुन्छ, चलचित्रकर्मीहरु त्यो देशका साझा गहना हुन्छन् तर नेपालमा भने सबै आ–आफ्नो राजनीतिक स्वार्थमा लागे, त्यसैले यो क्षेत्रको विकास ठप्पै भयो ।’

चलचित्र क्षेत्रमा पारिश्रमिक र यौन शोषणको विषय !
पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा यौन शोषण बढेका खबरहरु पनि बाहिर आइरहेका हुन्छन् । विशेषगरी चलचित्र निर्माण गर्ने पक्ष र सेलीब्रेटीबीच यो कुरा जोडिएर आएको सुनिन्छ, आफूले पत्रपत्रिकामा पढेपनि त्यस्तो नदेखेको बताएका छन् । योन शोषण वा अन्य राज्य र समाजले नगर भनेको काम गर्नु अपराध हो त्यसलाई राज्यका निकायले निगरानी, नियन्त्रण र कारबाही गर्न जरुरी छ, उनले भने ।

सिने क्षेत्रमा क्षमता भएको कलाकारहरु आफै स्थापित हुने गर्छन् । क्षमतावानहरुलाई कसैले दाग लगाउन सक्दैनन् तर क्षमता नहुनेहरुले भने यो खालका विकृतिहरु भित्र्याएको देखिन्छ, उनीहरुले सिने क्षेत्रलाई बदनाम गराउन बिभिन्न प्रोपोगाण्डाहरु गर्नेगरेका छन् त्यसलाई हामीले बिभिन्न समयमा प्रािबाद समेत गर्नेगरेका छौं ।

हामी गलतलाई गलत र सहिलाई सहि भन्ने गर्छौ । तर यहाँ गलतलाई सही र सहीलाई गलत भन्नेहरुको संख्यामा बृद्धी भईरहेको देखिन्छ । निर्देशक श्रेष्ठको भनाईमा क्षमता नभएका अभिनेता र अभिनेत्रीहरु भने त्यस्तो मामलामा जोडिएको देखिन्छ । जसले यो क्षेत्रलाई बदनाम गराउन खोजेको छ ।

अर्को समस्या पारिश्रमिकसँग पनि जोडिएर आएको देखिन्छ नि भन्ने प्रश्नमा, निर्देशक श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा पारिश्रमिकको विषयमा समस्या रहेको स्वीकार गरे । उनले भने, ‘यो क्षेत्रमा पारिश्रमिकको विषयलाई लिएर कुनै नीति नियम बनेको छैन । त्यसैले भनेजस्तो गरी कुनै सेलीब्रटीले पारिश्रमिक पाएको देखिदैन । यसमा राज्यले उचित नीति निर्माण गर्नुपर्छ ।’ नीति नियममा नचलेमा राज्यले कारबाही गर्ने परिपाटीको विकास गर्नुपर्छ ।

सुशील कोइराला मुलुककै आदर्श नेता !
निर्देशक श्रेष्ठले आफु पनि कुनै पार्टीमा आबद्ध भएको बताए । आफु नेपाली कांग्रेस निकट चलचित्रकर्मी भएको बताउँदै उनले कांग्रेसको मनपर्ने नेताहरुमध्ये स्व.सुशील कोइराला आफुलाई धेरै मन पर्ने नेता भएको बताए । निर्देशक श्रेष्ठले नेपालको सबैभन्दा राम्रो र आदर्श नेता स्व.सुशील कोइराला भएको बताए ।

सुशील कोइराला प्रधानमन्त्री भएको बेला उनका सहयोगी लक्ष्मण ढकालसँग समेत आफ्नो राम्रो सम्बन्ध रहेको स्पष्ट पार्दै ढकालको समेत निकै प्रशंसा गरे । उनले भने, ‘लक्ष्मणजी निकै इमान्दार र सहयोगी मान्छे हो, सुशील कोइराला प्रधानमन्त्री हुँदा उहाँलाई समेत विवादमा पार्ने कोसिस गरियो तर त्यो उहाँलाई नरुचाउने केही दलालहरुको काम हो ।’

ढकाल २०–२२ वर्षदेखि सुशील कोइरालालाई सहयोग गर्ने कांग्रेस कार्यकर्ता थिए, प्रधानमन्त्री भएपछि उनलाई प्रमुख स्वकीय सचिवबाट निस्कासन गरिएको थियो, उनलाई झुट्टा आरोप लगाएर निष्कासन गर्नु दलालहरुको षढ्यन्त्र भएको क्षेष्ठको जिकिर छ ।

जनताको धैर्यताको बाँध फुट्यो भने कसैले थेग्न सक्दैनन् !
उनले अहिले मुलुकको नेतृत्व नेपाली कांग्रेसले गरिरहेकोले सबै दलहरुलाई समेटेर लैजानुपर्ने सुझाव दिए । तर पछिल्लो राजनीतिक अवस्थादेखि उनले चर्को असन्तुष्टि पोखे । उनले भने, ‘चुडामणि शर्मा जस्ता भ्रष्टचारीहरुलाई सरकारले छुट दिइरहेको छ, सरकारले जनताको दुःखमा साथ दिएको छैन । जुन सरकार आएपनि जनताको दुःखमा भन्दा पनि राजनीतिक दाउपेचमा मात्र हेर्ने गरेको छ । त्यसैले अब जनता वाक्क भैसकेका छन् ।’

डा.गोविन्द केसीको माग त सुनुवाई नगर्ने सरकारले जनताको माग कसरी सुनुवाई गर्छ ? निर्देशक श्रेष्ठको प्रश्न थियो । सरकारले सिस्टम बसाले मुलुक निर्माण हुन धेरै वर्ष नलाग्ने समेत उनले स्पष्ट पारे ।

मुलुकमा अहिले राजनीतिक नेतृत्व गर्ने नेताहरु र सरकारले सुतेको बहाना गरिरहेको बताउँदै उनले यस्तै अवस्था रहे मुलुक निर्माण गर्न गाह्रो हुने स्पष्ट पारे । उनले भने, ‘नेता देख्ने बित्तिकै जनता वाक्क भैसके, जनताको धैयर्ताको बाँध टुट्न थालिसकेको छ, यदि जनताको धैर्यताको बाँध टुट्यो भने नेपालका नेताहरुले थेग्न सक्दैनन् । त्यो दिन आउनु नपरोस् ।’

उनले अघिल्ला २०३६, ०४६ र ०६२–६३ मा समेत जनताले अन्तिम फैसला गरेको दिनको स्मरण गर्दै त्यस्ता दिन फेरि आउन सक्ने भन्दै राजनीतिक दलका नेताहरुलाई सचेत हुन आग्रह समेत गरे ।