सूचना प्रविधि

मंगलबारसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस सेवा उपलब्ध

काठमाण्डौ । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाहरुको उद्दार तथा राहत कार्यमा आवश्यक सहयोग पु¥याउनका लागि २०७४ श्रावण २९ देखि श्रावण ३१ गते मंगलबारसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।

सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले आज आयोजित पत्रकार सम्मान कार्यक्रममा सो कुराको घोषणा गरेका हुन् । सो अवसरमा मन्त्री बस्नेतले नागरिक दैनिकका सञ्चारकर्मीद्वय सन्तोष न्यौपाने (काठमाडौ) र सन्तोष पोखरेल (पोखरा) लाई संयुक्त रुपमा र गोरखापत्र दैनिकका सञ्चारकर्मी विश्वास रेग्मीलाई सम्मान गरेका थिए । कम्पनीले नेपालका आमसञ्चार माध्यममा नेपाल टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशन र प्रसारण गर्ने दुई जना आमसञ्चारकर्मीलाई छनोट गरी सम्मान गरेको हो ।

सो अवसरमा मन्त्री बस्नेतले नेपाल टेलिकमले दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउनु पर्ने र प्रतिस्पर्धामा पनि उत्रनु पर्ने बाध्यता भएको बताउदै छिटोछरितो रुपमा गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह गरे । उनले कम्पनीले तय गरेका कार्यक्रमहरु प्रभावकारी रुपमा निश्चित समय भित्र कार्यान्वयन गर्न निर्देशन दिए ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले प्रत्येक विपत्को समयमा नेपाल टेलिकमलाई सम्झिने नेपाली धेरै भएको स्मरण गर्दै मुलुकका सम्पूर्ण स्थानमा सेवा पु¥याएर पनि सधैँ पहिलो नम्बरमा रहनु पर्ने कम्पनीको बाध्यता भएको बताए । उनले नेपाल टेलिकम, सरकार र सञ्चारकर्मी बीचको सम्बन्धलाई अझै सुदृढ गर्नुपर्ने बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा बल्क एसएमएस मार्फत निःशुल्क रुपमा आवश्यक जानकारी गराउने कार्य समेत निरन्तर चलिरहेको जानकारी दिदै कम्पनीले गत आर्थिक वर्षमा प्राप्त गरेको उपलब्धिका वारेमा जानकारी गराए । उनले कम्पनीले आ.व. ०७४/७५ मा विभिन्न कार्यक्रमहरु मार्फत १७ प्रतिशत ग्राहक थप्ने र सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब २२ अर्ब पूँजीगत लगानी गर्ने योजना तय गरेको जानकारी दिईन्।