पु.समाचार

शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छ : प्रम

काठमाडौँ, २९ साउन । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउन आवश्यक रहेको बताएका छन् ।

त्रिवि सभाको आज कीर्तिपुरमा उद्घाटन गर्दै उनले प्राथमिक शिक्षासँगै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पुर्याउन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले भने, “यसका लागि व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिक रुपमा अगाडि बढाउँदै लैजानुपर्छ, वर्तमान समयमा शिक्षाको तौरतरिका, माध्यम र शिक्षा प्रवाहका क्रममा व्यवस्थापन गर्नुपर्ने शैक्षिक वातावरणप्रति हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ ।”

शैक्षिका विकासका लागि राजनीतिक स्थायित्व अनिवार्य तत्व भएको उल्लेख गर्दै उनले वर्तमान सरकार संविधानको सफल कार्यान्वयन गर्नका लागि तत्पर रहेकाले यसप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिता कायम गर्न सबै क्रियाशील हुनुपर्नेमा जोड दिए ।

त्रिवि सभाका उपकुलपतिसमेत रहेका उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षा समसामयिक, प्रविधियुक्त, आधुनिक सिकाइपरक हुन आवश्यक छ, भने । उनले हाल नेपालमा १० विश्वविद्यालय उच्च शिक्षाको क्षेत्रमा क्रियाशील रहे तापनि ८० प्रतिशतभन्दा बढी विद्यार्थीको भार त्रिविले बहन गरिरहेका सन्दर्भमा उच्च शिक्षालाई विश्व परिवेशअनुकूल गराई विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गरिनुपर्नेमा जोड दिए ।

त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाले त्रिविको उच्च शिक्षालाई समसामयिक प्रविधियुक्त र आधुनिक सिकाइपरक हुन आवश्यक रहेका सन्दर्भमा विश्वविद्यालयले भौतिक सुविधाको अधिकतम प्रयोग गरी बहुपक्षीय स्रोत परिचालन गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

छुट्टाछुट्टै दीक्षान्त

त्रिविले हरेक वर्ष सञ्चालन गर्दै आइरहेको दीक्षान्त समारोहमा विद्यार्थीको चाप अत्यधिक रुपमा बढ्दै गएकाले व्यवस्थित रुपमा सञ्चालन गर्न अब छुट्टाछुट्टै दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

उपकुलपति खनियाले विद्यार्थीको संख्या बढी हुँदा दीक्षान्त व्यवस्थापन गर्न कठिनाइ भएकाले विद्यार्थी संख्या तथा अध्ययन संस्थान र संकायअनुसार छुट्टाछुट्टै दीक्षान्त समारोह आयोजना गर्न त्रिविले योजना अघि सारेको बताए । त्रिविको इतिहास लेखन विज्ञमार्फत शुरु गरिएको र वृतचित्र निर्माणको काम थालनी भएको जनाइएको छ ।

सो अवसरमा त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आव २०७४÷०७५ का लागि रु १९ अर्ब ३१ करोड सात लाख ५८ हजार प्रस्तावित आयव्ययको अनुमानित बजेट प्रस्तुत गरेका थिए । उक्त प्रस्तावित रकममा नियमित कार्यक्रमतर्फ रु १० अर्ब ८२ करोड ५० लाख २२ हजार रहेको छ । रकम सञ्चालन बजेटको हिस्सा ८०.४ प्रतिशत र पुँजीगत खर्च १९.६ प्रतिशत छ । आन्तरिकतर्फ सञ्चालन तथा पूँजीगत खर्च गरी रु आठ अर्ब पाँच करोड ७२ लाख ३६ हजार र विकास कार्यक्रममा रु ४२ करोड ५८ लाख प्रस्ताव गरिएको छ । प्रस्तावित बजेट त्रिवि सभाले छलफल गरी पारित गर्नेछ ।

त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले विश्वविद्यालयको ५८औँ वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार त्रिविका प्राविधिकतर्फका पाँच इन्जिनियरिङ, कृषि र पशु विज्ञान, चिकित्साशास्त्र, वन विज्ञान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान, साधारणतर्फका चार वटा कानून, व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिकशास्त्र संकाय छन् । ती संकायअन्तर्गत आव २०७२/०७३ सम्म ६० आंगिक क्याम्पस र ३९ केन्द्रीय विभाग गरी एक हजार ८४ वटा निजी क्षेत्रमा सञ्चालित सम्बन्धन प्राप्त क्याम्पस/कलेजमा स्नातक तहदेखि पिएचडीसम्मका कार्यक्रम सञ्चालन भइरहेको छ ।

आव २०७२/०७३ मा अध्ययनरत कूल विद्यार्थी संख्या तीन लाख ६० हजार २५४ मध्ये आंगिक क्याम्पसतर्फ एक लाख ४२ हजार २९३ जना र सम्बन्धन प्राप्त क्याम्पसतर्फ दुई लाख १७ हजार ९६१ छन् । तीमध्ये विदेशीतर्फ विद्यार्थी संख्या ६३ छ ।

त्यस्तै विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र अन्वेषण कार्यमा सात हजार ९२० जना शिक्षक तथा आठ हजार ९४ जना प्रशासनिकलगायत गरी जम्मा १६ हजार १४ स्वीकृति दरबन्दीमा जनशक्ति सेवामा कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।