समाचार

बाढी पहिरोले ४७ जनाको ज्यान लियो, गृहमन्त्री दौडाहामा

काठमाण्डौ, २९ साउन । तिनदिन यता देशभर बाढीपहिरोबाट ४७ जनाले ज्यान गुमाएका छन् भने १५ जना बेपत्ता छन् ।

गृहमन्त्रालयका अनुसार सबै भन्दा धेरै सुनसरीमा बाढीमा परेर ८ जनाले ज्यान गुमाएका छन् । यस्तै रौतहटमा ७, मोरङमा ५, झापामा ४, सिन्धुलीमा ४, बाँकेमा ४, सुर्खेतमा ३, मकवानपुरमा ३, सर्लाही, बारा, दाङ, बर्दियामा २,२ जनाको मृत्यु भएको छ । भने पाँचथर र धनुषामा एक एक जनाको ज्यान गएको छ ।

अविरल वर्षाका कारण अहिले पनि तराईका धेरै जिल्ला डुबान भएको र ठाउँ ठाउँमा सडक अवरुद्ध भएको छ । भने पूर्वमा विद्युत र सञ्चारसमेत अवरुद्ध भएको छ ।

यसैबीच, गृहमन्त्री जनार्दन शर्मासहितको टोली बाढी र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएको छ । काठमाडौंबाट बिहान बाँकेको नेपालगञ्ज गएको टोली बर्दियाको अवलोकन गरेर पूर्वी जिल्ला प्रस्थान गर्नेछ । यति एयरलाईन्सको प्लेन चार्टर गरेर टोली पश्चिम नेपाल गएको हो ।

पूर्वतर्फको मौसम खराब भएकाले तत्कालका लागि पश्चिम जिल्लाको अवलोकन गर्न गएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । अवलोकन टोलीमा गृहमन्त्री जनार्दन शर्मासहित, सुरक्षा अंगका प्रमुखहरु, स्थानीय नेता तथा सांसदहरु र नेपाल सरकारका केही सचिवहरु छन् ।