स्वास्थ्य

मेरो चिन्ता छोड्दिनुस्, बाढी र पहिरो पीडितको उद्धारमा लाग्नुस् : डा. केसी

काठमाण्डौ, २९ साउन । देश अहिले पिडामा छ । जनता छटपटाहटमा छन् । एकातिर अनशनरत डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै बिरोध भइरहदा अर्कोतर्फ भारी बर्षाले देशको पूर्वी तथा तराइ क्षेत्र डुबानमा पारेको छ । पछिल्लो जानकारी अनुसार बाढी र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाइसकेका छन् । यो अवस्थामा डा. केसी झनै चिन्तित बनेका छन् ।

अनसनरत डा. गोविन्द केसीले आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित गरी वाढी र पहिरो पीडितको उद्धारमा खटिन चिकित्सकहरुलाई आग्रह गरेका छन् । लगातारको बर्षापछि तराईका तथा भित्रि मधेशका अधिकांश स्थानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको भन्दै अनशनस्थलबाटै डा. केसीले आफ्ना सुभचिन्तक चिकित्सकहरुलाई सो आग्रह गरेका हुन् । देशको अहसज परिस्थितिको कारण आन्दोलन स्थगित गर्दै सम्पुर्ण बाढी पहिरो पीडित नागरिकको उद्धार र सेवामा खटिन उनको बिशेष आग्रह थियो ।

अनसनरत डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ अकस्मिक बाहेकका सेवा ठप्पपारी आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा बाढी र पहिरो पीडित जनताको स्वास्थ्य सेवामा प्रतिकुल असर परेको छ ।

यसैबीच, अनसनरत डा. केसीको स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको छ । चिकित्सा शिक्षा ऐन पारितको माग गर्दै विगत २० दिनदेखी आमरण अनसनमा बसेका केसीको स्वास्थ्य अवस्था जोखिमपुर्ण रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन । डा. केसीको छातीमा दुखाई अत्यन्त पिडादायी बनिरहेको र अक्सिजनको मात्र कम देखिन थालेको चिकित्सकको भनाइ छ ।रगतमा घटिरहेके इलेक्ट्रोलाईटकका कारण मुटु अचानक बन्द हुने जोखिम पनि उत्तिकै रहेको डा. केसीको उपचारमा संलग्न चिकित्सको भनाई छ ।