पु.समाचार

रौतहटमा भेन बगाउँदा सुत्केरीसहित ६ जनाको मृत्यु

रौतहट, २९ साउन । रौतहटमा लगातारको वर्षापछि भेलले एउटा भेन बगाउँदा गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ ।

प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बीच बाटोमै डुबेको हो । बाढीले बाटो कटान गरेको जानकारी नहँुदा भेन बगाएको प्रहरीले जनाएको छ । राजपुर अस्पताल भन्दा करिब सय मिटर पर आज बिहान ३ बजेतिर भारतीय नम्बरको भेन डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ।

मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । भेनका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको स्थानीयले बताएका छन् । चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ ।

२०५० सालमा सबै भन्दा ठूलो आएको बाढी भन्दा यस पटकको बाढीले जिल्लाका सबै गाँउपालिका र तिनवटै नगरपालिका जलमग्न बनाएको छ । रौतहटको ९० प्रतिशत भुभाग जलमग्न भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला कारागार, सहित सदरमुकाम गौरका अधिकांश घर डुबानमा परेको छ । गौर भन्सार नाका जलमग्न हुँदा त्यहाँ रहेका सशस्त्र प्रहरीका ५ सदस्य फसेका छन् ।

नेपाल टेलिकम र एनसेलका मोबाईल फोनले काम नगरेका कारण रौतहट सञ्चारसम्पर्क बिहिन भएको छ । रौतहटमा विद्युत सेवा समेत अवरुद्ध रहेको छ ।