समाचार

बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

काठमाण्डौ, २८ साउन । केही दिनदेखि देशरभर बर्षा भइरहेको छ । देशको मध्य तथा पश्चिम क्षेत्रमा सामान्य बर्षा भइरहेपनि पूर्वी क्षेत्रमा भारी बर्षा भइरहेको छ । लगातार बर्षा भइरहदा पूर्वमा ठूलो मात्रामा जनधनको क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बाढी र पहिरोमा परेर हालसम्म ३२ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्री जनार्दन शर्माले शनिबार पत्रकारहरुसँग कुरा गर्दै बाढी पहिरोले र्पुयाएको क्षतिको जानकारी गराएका हुन् । उनले दिएको जानकारी अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, पाँचथरमा ४, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीका अनुसार शिवसत्ताक्षी, झापा गाउँपालिकामा गरी ७ जना बेपत्ता भएका छन् । भने १२ सय ४९ घर परिवार विस्थापित भएका छन् । झापामा अहिले पनि भारी बर्षा जारी छ ।

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रका लागि विमानस्थलमा खाद्यान्न तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखे पनि मौसम प्रतिकुल भएकाले पठाउन नसकिएको बताएका छन् । मौसममा सुधार आउनासाथ राहत सामग्री प्रभावित क्षेत्रमा र्पुयाइने शर्माको भनाइ छ । यसअघि नै गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोलीलाई प्रभावित क्षेत्रमा खट्नका लागि निर्देशन दिएका छन् ।