समाचार

तिमीसंग के छैन जो मसंग छ, सरकार !

काठमाण्डौ, २८ साउन । देशका गन्ने मान्ने आखिर उही नेता, पछि नलागे हात लाग्यो सुन्यो । देशमा उहि नेता मन्त्री, प्रधानमन्त्री । गरे उनैको आश नगरे उनलाई के को लाज । चलेकै छ देश । अनि यीनै नेताको पिछलगुवा नभइ नि हुन्न, हुनुपर्ने कहिल्यैसम्म हो ? त्यसको नि टुंगो छैन । केहीले पछ्याउदै जादा बस्ने चौतारो भेटाउँछन् कोही बाटो नटुगिंएसम्म हिडिरहन्छन् । यसरी पछि लाग्दैमा धेरैका कपाल पाकेका छन्, अनुहार खुम्चिएका छन् । तर गन्तब्य बिहिन यात्रा नचाहेरै पनि जारी नै राखेका छन् ।

बर्षभरीमा मन्त्रालय मात्रै फेरिदैनन् यो मुलुकमा, मन्त्रीका अनुहार कति–कति । युवा देशका होनाहार कर्णधार भनिएपनि राजनीतिमा युवाको चाँसो सकरात्मक छैन । सायद यसैले पनि होला कति युवालाई देशको न राष्ट्रपतिको नाम थाहा छ न प्रधानमन्त्री कै । काठमाण्डौको एक होस्टलमा बसेर एमबिबिएस पढ्दै गरेकी सिन्धुलीकी एक युवतीले टेलिभिजनमा प्रशारण भइरहेको एक समाचारमा सभामुख ओनसरी घर्तीलाई खेदाउँदै राष्ट्रपति उनै हो ? जिल नखाने को होला । अझ प्रधानमन्त्री को छ, अहिले ? भन्ने सवालमा त अक न बक के भन्ने । तर फेरी सम्झिदा लाग्यो । यो सामान्य कुरा हो । छिनमै हुने सरकार परिवर्तन र भिजन बिनाका अनुहार राष्ट्र हाक्ने ओहदामा ढुनमुनाउछन्, रमाउँछन् आफ्नै लय र तालमा । अनि कसलाई के पत्तो र । अनि फेरी राजनीतिक परिवर्तनले युवाका लागि खै कस्तो ठोस रणनीति अवलम्बन गर्यो र ? अनि राज्यले युवाका लागि शिक्षा, स्वास्थ्य र रोजगारमा के सौलियत ल्यायो र सम्झिरहनलाई । प्रकृतिको चक्र जस्तै भएको छ आखिर नेपालका दलहरुका एजेण्डा र राज्य व्यवस्था । यसलाई युवाले पनि सामान्य चक्रका रुपमा स्विकार्न अभ्यस्त बनिरहेका छन् ।

तर पनि युवासंग लक्ष्य छ, सपना छ, त्यसैमा उनीहरु मुस्कुराउँछन् । भविश्यको चिन्ता छ, गहिरो चिन्तनमा डुब्छन् । कुरा होइन मेहनत गरिरहन्छन् । तर सपना पूरा गर्न अन्ततः राज्य नै बाधक बनेको छ । युवाको सोच र चिन्तन अनुरुपको नीति निर्माण नहुँदा । भएपनि कार्यान्वयन हुन नसक्दा । यसैले त धेरै युवाले बाटो बिराइरहेका छन् ।

हरेक दिवस् आउँछन् । उही मिठा आश्वासनसंगै पूरानै रटान दोहार्याउँछन््, प्रकृतिक विपत्तिमा देशवासी छटपटाउँदा मर्माहत हुन्छन्,चाँड पर्व आउँछ शुभकामना दिन भुल्दैनन् । तर कहाँ के–के पूर्व तयारी गर्नु पथ्र्यो पत्तोसम्म पाउँदैन् । न त्यसका लागि कसैसंग नयाँ योजना अनि तर्जुमा छ । उहि पूरानै ढर्रामा कार्यकाल सफल बनाउँछन् ।

यस्तै त भयो अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पनि । राष्ट्रपति, युवा तथा खेलकुद मन्त्री, वाणिज्यमन्त्रीलगायत अरु धेरैले युवाका सन्दर्भमा बार्षीक कर्म गर्न भ्याए । प्रधानमन्त्रीले भने लगातारको भारी बर्षा हुँदा देशको पूर्वी क्षेत्रमा जनधनको ठूलो क्षतिलाई सम्बोधन गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले युवा सशक्तीकरणका लागि लगानी गर्न सक्नुपर्ने बताइन् । युवा दिवसका सन्दर्भमा उनले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोबाट हुने क्षतीबाट बच्न आग्रह जनतालाई तुरुन्त राहतको ब्यवस्था गर्ने ७५ वटै जिल्लाका जिल्ला प्रशाशन कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए । साथै उनले सरकारले बाढीपीडितका लागी राहत प्रदान गर्न कुनै कसर बाँकी नराख्ने हुंदा धैर्य गर्न सम्पूर्ण नेपालीहरुलाई आग्रह समेत गरे ।
यस्तै वाणिज्यमन्त्री मीन विश्वकर्माले युवाका लागि मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए । राष्ट्रिय युवा सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै उनले उद्योग र वाणिज्यको क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका हुन् ।

यसैगरी अन्तराष्ट्रिय युवा दिवसकै एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले युवा नीति, रणनीति तथा दूरदृष्टिलाई प्रभावकारी कार्यान्वयन गर्दै युवालाई स्वदेशभित्र नै उद्यमशीलता बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । यीनै कार्यक्रममा सहभागिहरुले भने सहभागि युवाले कुल जनसंख्याको ४० प्रतिशत युवाहरु विचलन, नैराश्यता र विभिन्न समस्यामा जकडिएको भन्दै रोजगारमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।

कुरा मात्रै मिठा गरेर जनतालाई दुःख दिने चलन कहिले हट्ला खै ? ५ बर्ष यता पटक–पटक कम्तिमा १० देखि २० औ दिनसम्म बिना स्वार्थ अनशन बसेका डा. गोविन्द केसीको त माग पूरा नहुने मुलुकमा यी चिल्ला भाषण कहिले होलान् र सरकार ?