पु.समाचार

युवा सशक्तीकरणका लागि लगानी : राष्ट्रपति

काठमाण्डौ, २८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा सशक्तीकरणका लागि लगानी गर्न सक्नुपर्ने बताएकी छिन् । समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्नेमा उनको जोड थियो ।

अन्तर्राष्ट्रिय युवा दिवसका सन्दर्भमा युवा तथा खेककुद मन्त्रालय र मन्त्रालयअन्तर्गतका राष्ट्रिय युवा परिषद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले युवा सशक्तीकरणमा सरकार र निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरिन् । उनले युवामा गरिने लगानीले नै देशमा आर्थिक समृद्धि हुने भन्दै दिगो विकास तथा शान्ति कायम गर्न युवा नीति, रणनीति तथा दूरदृष्टि (युथ भिजन)लाई अझ प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरेकी छिन् ।

युवावर्गलाई स्वदेशभित्र नै स्वरोजगारी, रोजगारी तथा उद्यमशील बनाउन उनीहरुको क्षमताअनुसारका सीप, प्रविधि र आर्थिक सहयोग प्रदान गर्न जरुरी रहेको बताउँदै सरकारका नीति तथा कार्यक्रम पनि युवामैत्री हुनुपर्नेमा उनको जोड थियो । युवा आर्जित विप्रेषणले अर्थतन्त्र दिगोरुपमा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय पूँजीका रुपमा युवा जनशक्तिलाई स्वदेशभित्र अवसरका ढोकाहरु खुल्ला गरिदिन सक्नुपर्ने बताएकी थिइन् ।

सो आवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय युवा प्रतिभा /उद्यमी सम्मान दश जना र ट्यालेन्ट हन्ट सम्मान नौ जना युवालाई प्रदान गरेकी थिइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले युवा र युवा दर्पणको वार्षिक अङ्क सार्वजनिकसमेत गरेकी थिइन् । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले युवा नीति, रणनीति तथा दूरदृष्टिलाई प्रभावकारी कार्यान्वयन गर्दै युवालाई स्वदेशभित्र नै उद्यमशीलता बनाउन सरकार प्रतिबद्ध रहेको बतएका थिए ।

मन्त्रालयले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेको छ । पछिल्लो जनसंख्याअनुसार कूल जनसंख्यको ४० प्रतिशत अर्थात एक करोड सात लाख युवा रहेका छन् ।