अन्तर्राष्ट्रिय

इजिप्टमा दुईवटा रेल ठोक्दिदा ४१ जनाको मृत्यु, १ सय भन्दा धेरै घाइते

एजेन्सी । इजिप्टमा दुईवटा रेल आपसमा ठोक्किदा ४१ जनाको मृत्यु भएको छ भने १ सय २० जना घाएते भएका छन् ।

उत्तरी तटीय शहर एलेक्जान्ड्रियाको खोर्सिदमा दुईवटा रेल आपसमा ठोक्किएको हो । राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल नेपाली समय अनुसार शुक्रबार साँझ ६ बजे ठोक्किएका हुन् । दुर्घटना लगतैदेखि उद्धार तथा राहतको काम भइरहेको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन ।

इजिप्टमा यस किसिमको रेल दुर्घटना निकै कम हुने गरेको बताइन्छ । यातायात मन्त्री हिशम अराफतले मानवीय त्रुटीका कारण दुर्घटना भएको हुन सक्ने बताएको बिबिसीले उल्लेख गरेको छ । मन्त्री हिशमले घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

सन् २०१३ मा दक्षिण कायरोमा भएको दुर्घटनापछि यो नै सबैभन्दा ठूलो रेल दुर्घटना भएको बताइएको छ । त्यसबेला एउटा बस र रेल ठोक्किदा २७ जनाको मृत्यु भएको थियो । यस्तै सन् २००२ मा भएको रेल दुर्घटना इजिप्टको इतिहास मै भयानक मानिन्छ । उक्त दुर्घटनामा ३ सय ७३ जनाको मृत्यु भएको थियो ।