खेलकुद

इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको छ । सिजनको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । प्रिमियर लिगको यो २६ औं सिजन हो । घरेलु मैदानमा  भएको खेलमा लेस्टर सिटीलाई ४–३ ले हराउँदै आर्सनलले प्रिमियर लिगको सन् २०१७–१८ सिजनमा विजयी सुरुवात गरेको हो ।

अन्तिम सयम बराबरी रहेको खेलमा सबस्टिच्युडको रुपमा मैदान छिरेका ओलिभर जिरउडले आर्सनलका लागि विजयी गोल  गरे । खेलको दोस्रो मिनेटमा नै एलेक्जेन्डर ल्याकेजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

त्यसको तीन मिनेटपछि  शिन्जी ओकाजाकीले लेस्टरका लागि बराबरी गोल फर्काए । २९ औं मिनेटमा जेमी भर्डीले गोल गरेपछि लेस्टरले अग्रता लियो । तर पहिलो हाफको इन्जुरी समयमा ड्यानी वेलबेकले आर्सनलका लागि बराबरी गोल फर्काएर पहिलो हाफमा २–२ को बराबरी भयो । तर ५६ औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि फेरि लेस्टरले अग्रता लियो ।

८३ औं मिनेटमा आरोन रामसीले आर्सनलका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि जिरउडले गोल गर्दै आर्सनललाई ४–३ को जित दिलाए । जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ ।