पु.समाचार

एक्कासि डा.बाबुराम भट्टराईमाथि आइलाग्यो यस्तो संकट !

काठमाण्डौ । विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन्। ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन्।

अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन्। शुक्रबार मात्रै उनलाई औपचारिक रूपमा रामचन्द्र झा, रामकुमार शर्मालगायत मधेसी नेताले साथ छाडेका छन्। ०४० सालदेखि भट्टराईका हरेक ‘स्टेप’ मा साथ दिँदै आएका नेता देवेन्द्र पौडेललगायतले ‘सम्बन्धविच्छेद’ को अन्तिम तयारी गर्दै छन्।

भट्टराईले ०७० को चैतदेखि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका विषयमा बहस चलाउँदै ‘नयाँ शक्ति निर्माण’ को नेतृत्व लिने प्रयास गरेका थिए। तीन दशक बढी समय कम्युनिस्ट पार्टीमा बिताएका उनले ०७२ असोज ९ देखि भने ‘आफैंले योगदान गरेको कम्युनिस्ट पार्टीसँग डिभोर्स’ गर्दै ‘औपचारिक’ रूपमै नयाँ राजनीतिक कोर्स सुरु गरेका थिए।

तर, उनले बनाउन खोजेजस्तो नयाँ शक्ति दुई वर्षको यो अन्तरालमा बन्न नसकेपछि अहिले उनलाई साथ दिन पुगेका नेता नै धमाधम पार्टीबाट बाहिरन थालेका छन्। उनलाई पार्टी निर्माण अभियानमा सहयोग गर्ने हस्तीहरू देवेन्द्र् पौडेल, रामचन्द्र झा टाढिएका छन्। रामेश्वर खनाल, मुमाराम खनाललगायत नेता पहिल्यै उनीबाट अलग भइसकेका छन्। भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक पार्टी बनाउने योजनामा तीन लक्ष्य राखेका थिए, पहिलो, आफूले निर्माण गर्ने वैकल्पिक पार्टी कुनै पनि वादरदर्शनमा आधारित नरहने। दोस्रो, विचारधारा पार्टीको भए पनि जातिवाद र क्षेत्रवादबाट मुक्त हुने र तेस्रो, आर्थिक समृद्धि र विकासलाई मूल ध्येय बनाउने। त्यसपछि नै उनले अगाडि सारेका यिनै तीन लक्ष्यमा जोडिन आइपुगे, विभिन्न प्रवृत्तिका शक्तिहरू।

शनिबारको अन्नपूर्णम लेखिएको छ, माओवादीभित्रै रहँदा अन्तरसंघर्षमा साथ दिँदै आएका अधिकांश नेतादेखि गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिसम्म भट्टराईका नयाँ सारथिका रूपमा अगाडि देखिए। तर, पार्टीमा आएका विविध प्रवृत्तिका नेताको उचित व्यवस्थापनमा चुक्दा भट्टराई अहिले एक्लिन पुगेको विश्लेषण राजनीतिक वृत्तमा छ।

कहिल्यै पार्टीमा ‘फस्र्ट म्यान’ भई लिडरसिप नलिएका भट्टराईमा लिडरसिपमा हुनुपर्ने क्वालिटी नदेखिनु र आफ्नो गन्तव्यमा आफैं अलमलिनुले अहिले एक्लिँदै जाने परिस्थिति सिर्जना गरेको बताउँछन् प्राध्यापक कृष्ण खनाल।

‘पार्टी भनेको आज बनायो, भोलि नै टुम्पोमा पुग्ने भन्ने त हुँदैन तर बाबुरामजीको पर्सनल बिहेवियर, पर्सनल इन्टेस्ट सबै हेर्दा उहाँमा लिडरसिप गर्ने क्षमताको अभाव देखिन्छ। लिडरसिपका केही क्वालिटी हुन्छन्, त्यसमा उहाँको पुगेको देखिएन,’ खनालले भने, ‘आफूलाई सबैले समर्थन गर्छन् भनेर मान्छेहरूप्रति तत्कालै इम्प्रेसन बनाउने र सुरुदेखि नै आफूले चाल्न खाजेको यात्राका विषयमा कन्फ्युजन पालेर बस्दा उहाँलाई साथ दिनेहरू छुट्दै गए।’

पछिल्लो झगडाको बीउ
वैचारिक-राजनीतिक विषयमा भट्टराईको विद्वतामाथि ‘अति विश्वासपात्र’ मानिएकै देवेन्द्र पौडेललगायत नेताले प्रश्न उठाए। पार्टीको विचार, कार्यदिशा र नेतृत्वमा अलमलमा रहेको प्रश्न पौडेलले उठाएपछि अहिले भट्टराईले पौडेललगायत १५ जनालाई २४ घन्टे प्रस्टीकरण सोधेका छन्। शुक्रबार भट्टराईले यस विषयमा प्रस्ट्याउन पौडेललगायत नेतालाई स्पष्टीकरण सोधेका हुन्।

पौडेलले भने बिहीबार नै नेता वामदेव क्षत्रीलाई साथमा लिएर भट्टराईसँग आफूहरूले नयाँ राजनीतिक बहस सुरु गर्न लागेको जानकारी दिएका थिए। पौडेल पक्षले आफूहरूलाई कारबाही गरे नयाँ कोर्स सुरु गर्न सजिलो हुने ठानेर २६ साउनमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका थिए।

स्थानीय तह निर्वाचनको परिणाम पार्टीको पक्षमा अनपेक्षित आएपछि पौडेल समूह बृहत् राजनीतिक धु्रवीकरणको पक्षमा उभिएको थियो। यसलाई भट्टराईले सुरुमै नकारात्मक रूपमा लिइदिएपछि पौडेलले नयाँ कदम चाल्न लागेको उनको समूहमा अहिले रहेका एक नेताले भने।
नयाँ शक्तिभित्र रहेका पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई अहिले लागेको छ, भट्टराईले विगतमा सँगै उनलाई साथ दिएका नेताहरूलाई भुल्दै गए।’ नेता कुमार पौडेलले भने, ‘भट्टराईले इतिहास बिर्सन खोज्नुभयो, कार्यकर्ताको दुःख-सुखमा रमाउने भन्दा नयाँ गर्ने नाममा मात्रै रमाइरहनुभयो, यसले पार्टीभित्र असन्तुष्टि ल्यायो,’ पौडेलले भने।

नेता खिमलाल देवकोटा पनि पछिल्लो चरणमा भट्टराईले पूर्वमाओवादीबाट आएका नेता-कार्यकर्तालाई टाढै राखेर जान चाहँदा असन्तुष्टि चुलिएको बताउँछन्। ‘पूर्वमाओवादीबाट आएकाबाटै संगठन चलाउन खोज्ने, संगठन निर्माणमा प्रयोग पनि गर्ने तर यसरी जाँदा नयाँ शक्ति बन्दैन कि भन्ने त्रास पनि पाल्दै जान थालेपछि नेताले पार्टी छाड्दै जान थाले,’ देवकोटाले भने।