समाचार

नौ लाख भन्दा बढी बिरुवा रोपिए

भीमदत्तनगर, २७ साउन । कञ्चनपुरमा केही महिनायता विभिन्न प्रजातिका नौ लाख ५० हजार बिरुवा रोपिएको छ ।

यहाँका विभिन्न इलाका र वन सेक्टरबाट उपभोक्ता, स्थानीय र सामुदायिक वनलाई सो परिमाणमा बिरुवा वितरण गरेको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले जानकारी दिए ।

टिक, मसला, सिसौँं, खयर, लहरे पिपल, डालीघाँसलगायत विभिन्न प्रजातिका बिरुवा सामुदायिक वन र स्थानीय उपभोक्तालाई निःशुल्क वितरण गरिएको हो । वन कार्यालयले मात्रै करिब ७० हेक्टरमा वृक्षरोपण गरेको छ ।

“धेरैजसो अतिक्रमण खाली गरेको ठाउँमा वृक्षरोपण गयौँ,” उनले भने । बिरुवाको माग वर्षेनी बढ्दै गएको छ । स्थानीयवासीले निजीस्तरमा समेत बिरुवा रोप्ने गरेका छन् । कार्यालयले बिरुवा उत्पादनका लागि करिब रु ७० लाख खर्च गरेको जनाएको छ ।

यहाँको कृष्णपुर, कुण्डा नौरंगा क्षेत्रमा अतिक्रमण हटाइएको स्थानमा वृक्षरोपण गरिएको छ । उपभोक्ताको सहजताका लागि भीमदत्तनगर, ब्रह्मदेव, बेदकोट, झलारी, कृष्णपुर, बाणी, बेलौरी, पुनर्वास र नौरंगा क्षेत्रमै बिरुवा उत्पादन गरी वितरण गरिएको वन अधिकृत शर्माले बताए । गत वर्ष कञ्चनपुरमा चार लाख बिरुवा वितरण गरिएको थियो ।

वन कार्यालयअन्तर्गत कञ्चनपुरमा ६१ हजार वन क्षेत्र रहेको छ भने ३०५ वर्गकिलोमिटरमा यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वन क्षेत्र फैलिएको छ । अझै पाँच हजार आठ सय हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको अवस्था छ ।