समाचार

सप्तरीको खाडो नदीलाई पुरानै धारमा फर्काउ : गृहमन्त्री

सप्तरी, २७ साउन । गृहमन्त्री जनार्दन शर्माले सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन् ।
मन्त्री शर्माले सडक डिभिजन कार्यालय इटहरीबाट दुईवटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन आज बिहान निर्देशन दिएका हुन् । बाढीका कारण खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने सम्भावना बढेकाले नदीलाई पुरानै धारमा फर्काउन चेन डोजर त्यसतर्फ लागिएको हो । प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरीका जवान उद्धारमा खटेका छन् ।

बुधबार रातिदेखिको अविरल बर्षाका कारण खाडो नदीमा बाढी आएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार बाढीका कारण एकजनाको मृत्यु भएको छ । जिल्लाकै तिरहुत गाउँपालिकाको मैनाकडेरी र भेडियामा पनि डुबानको समस्या आएपछि त्यहाँ पनि उद्धार कार्य जारी रहेको छ ।