खेलकुद

नेपाली फुटबल टोली जापान जादै

काठमाण्डौ, २७ साउन । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाँदै छ । एसियन कप छनोट अन्तर्गत आगामी सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपाली टोली १० दिने जापान भ्रमणमा जान लागेको हो ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो । २४ सदस्यीय नेपाली टोलीको कप्तानको भूमिका अनिल गुरुङले गर्नेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिजो बिहीबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँएका थिए ।

नेपाली टोलीले जापानमा रहँदा त्यहाँको विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । एसियन कप छनोटको तेस्रो खेलमा नेपालले आगामी भदौमा ताजकिस्तानको सामना गर्दैैछ । भदौ २० गते काठमाडौंमा हुने सोही खेलको तयारी स्वरुप नेपालले जापान भ्रमण गर्न लागेको हो । नेपाली टोलीको जापान भ्रमणलाई जापानको विदेश मन्त्रालय र जापान फुटबल संघले व्यवस्थापन गर्नेछ ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, डिफेण्डर विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, मान बहादुर तामाङ, दीनेश राजवंशी साथै मिडफिल्डर विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बाल जाने छन् । फरवार्डमा अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, सुमन लामा समावेश भएका छन् । जापान जाने टिममा प्रशिक्षकसहित ६ जना पनि रहेका छन् ।