राजनीति

राजपा २ नम्बर प्रदेशको चुनाबमा कुन बाटो जाने भो ? फेरी जाम हुने त होइन !

काठमाण्डौ, २७ साउन । लामो समयको अन्योलतापछि अन्तत : २ नम्बर प्रदेशको निर्वाचनमा जान राष्ट्रिय जनता पार्टी राजपा सहमत भएको छ ।

सरकार र राजपाबीच संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएसंगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुने भएको हो ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान हुनेछ ।

संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको राजपाका नेता शरतसिंह भण्डारीले बताए । उनले संसदमा संशोधन पास भएमात्र आफुहरुको विश्वास कायम रहने र चुनाबमा जान स्पष्ट रुपमा बाटो खुल्ने पनि उल्लेख गरे ।

यता सत्तारुढ दलका नेताहरु भने संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको बताउछन् । संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन ।