राजनीति

राजपा नेताहरुलाई भारतीय विदेशमन्त्री स्वराजले दिइन् यस्तो संकेत, अब के गर्ला राजपाले !

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीभित्र असोज २ गते दुई नम्बर प्रदेशमा हुने चुनावमा सहभागी हुनेकि नहुने भन्ने विषयमा अन्योल देखिएको छ । सो पार्टीको केन्द्रीय समिति बैठकमा समेत यो विषयमा निर्णय हुन नसकेपछि चुनावमा जाने वा नजाने भन्ने विषयमा अकमण्र्यता देखिएको हो ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन पास भएपनि केही नेताहरुले पार्टी चुनावमा सहभागी हुनुपर्ने अडान लिइरहेका छन् । तर ठाकुरको राजनीतिक प्रतिवेदनमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म चुनावमा जान नहुने भन्ने विषय प्रस्ट रुपमा उल्लेख गरिएको छ ।

सरकारसँग भएको सम्झौतासँगै संविधान संशोधन प्रस्ताव पास नभएसम्म चुनावमा नजाने उसको अडान कायमै देखिन्छ । तर राजनीतिक प्रतिवेदन पास भएपनि प्रभावशाली नेताहरु ह्रदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरु चुनावमा जानुपर्छ भन्नेमा देखिएपछि सो पार्टी राजनीतिक रुपमै संकटमा फस्ने देखिएको छ । यसले राजपालाई राजनीतिक रुपमा घाटा पुर्याउने जानकाहरु बताउँछन् ।

भारतीय विदेशमन्त्रीसँग के–के कुराकानी भयो ?
बिमस्टेक बैठकको सिलसिलामा काठमाण्डौ आइपुगेकी भारतीय विदेशमन्त्री शुस्मा स्वराजसँग राजपा नेताहरुले बिहीबार बेलुकी भेटवार्ता गरेका छन् । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर लगायतका नेताहरुले मन्त्री स्वराजसँग भेटवार्ता गरेका हुन् ।

राजपाको आन्दोलनलाई सुरुदेखिनै भारतको समर्थन छ । राष्ट्रिय जनता पार्टी गठन हुनुअघि मधेसका विभिन्न दलहरुको नाममा आयोजना भएको आन्दोलनलाई भारतले संरक्षण दिएको जस्ता आरोपहरु लाग्दै आएका छन् ।

तिनै विभिन्न ६ मधेसी दलहरु मिलेर राजपा बनेको हो । अहिले पनि नेपालको संविधानबारे भारतको अडान मधेसी दलहरुलाई समावेश गर्ने गरी संशोधन गरेमात्र समर्थन गर्ने भन्ने रहेको छ । तर चुनावको सवालमा भने भारतले मधेसी दलहरुलाई पनि भाग लिन आग्रह गरिरहेको छ ।

बिहीबार साँझको बैठकमा पनि मन्त्री स्वराजसँग असोज २ गते हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचन, संविधान संशोधनको माग लगायतका विषयमा राजपाका नेताहरुको छलफल भएको बुझिएको छ ।

विदेशमन्त्री स्वराजले सरकारले संविधान संशोधन प्रस्ताव पास गर्ने ग्यारेन्टी गर्ने भए चुनावमा जानुपर्ने सुझाव दिएको श्रोतको दाबी छ । राजपाका नेताहरुलाई विदेशमन्त्री स्वराजले बेलुकीको खाना समेत सोल्टी होटलमै खुवाएकी थिइन् ।

मन्त्री स्वराजले बिहीबारनै प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुलाई भेटेकी थिइन् । मन्त्री स्वराजसँग छलफल भएको भोलिपल्टै आज राजपा सरकार र राजपा नेताहरुबीच छलफल हुँदैछ । उक्त छलफलबाट के निश्कर्ष निस्कन्छ त्यो भने हेर्न बाँकी नै छ ।