राजनीति

गल्यो नयाँ शक्ति, निराश बनेका नेताको आग्रहः माओवादीसंग ध्रुबीकरण गरौ !

काठमाण्डौ, २६ साउन । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केही नेताले आफु निराश भएको सार्वजनिक गरेका छन् । मुख्य नेतृत्वकै कारण नयाँ शक्ति पार्टी संकटमा परेको भन्दै उनीहरुले पूर्वमाओवादीवीच ध्रुवीकरण हुनुपर्नेमा समेत जोड दिएका छन् ।

बागबजारको एक होटलमा विहीबार पत्रकार सम्मेलन आयोजना गरेर नयाँ शक्तिका नेताहरुले आफुहरु निराश भएको भन्दै ध्रुवीकरणको प्रक्रियामा आउन डा. बाबुराम भट्टराईलाई आग्रहसमेत गरेका हुन् । नयाँ शक्ति पार्टीको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता देवेन्द्र पौडेल, कुमार पौडेल, महेन्द्र पासवान, पासाङ शेर्पा, वामदेव क्षेत्री, मुक्ति प्रधान, सुशीला श्रीपाली, अमरध्वज लामा, तिलक थापा, वाहिद अन्सारी, हरि चौलागाई लगायतको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै उनीहरुले आफूहरुले नयाँ शक्ति पार्टी छाड्न नखोजेको तर, परिवर्तनकारी शक्ति र पूर्वमाओवादी समूहवीच धु्रवीकरण चाहेको बताए । उनीहरुले आफूहरु निशर्त प्रचण्डको पार्टीमा जान लागेको प्रचार सही नभएको भन्दै बाबुरामलाई समेत लिएर ध्रुवीरकणको पक्षमा लाग्ने बताए । पत्रकार सम्मेलन गर्नुपूर्व २ घण्टा डा. बाबुराम भट्टराईसित छलफल गरेको भन्दै कार्यक्रममा नेता देवेन्द्र पौडेलले डा. बाबुराम भट्टराईलाई ‘आइसोलेसन’ मा पार्न नहुने बताएका थिए ।