राजनीति

राणाले नक्कली हस्ताक्षर गरी पार्टी विभाजन गरेको थापाको आरोप

काठमाण्डौ, २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटकमा हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले माघ ७ गतेभित्र दुवै निर्वाचन गर्नुपर्ने बाध्यता भएकोसमेत औल्याए । हिउँदमा मौसमका कारण निर्वाचन सम्भव नहुने भन्दै मंसिरमा दुवै तहको निर्वाचन गर्नु उपयुक्त हुने थापाको भनाइ थियो ।

उनले मधेसी दलको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै सरकारले राप्रपालाई मन्त्री दिने आश्वासन देखाएर पार्टी विभाजन गरेको आरोप लगाएका छन् । संविधान संशोधन विधेयक संसदमा पास हुने अवस्था भए पनि सरकारले यसमा पहल नगरेको उनले बताए ।

अध्यक्ष थापाले पशुपतिशम्शेर राणाले नक्कली हस्ताक्षरको प्रयोग गरेर पार्टी विभाजन गरेकोसमेत आरोप लगाएका छन् । राप्रपाको विधानमा १६५ केन्द्रीय सदस्य रहने प्रावधान रहेको र पार्टी विभाजनका लागि ६७ केन्द्रीय सदस्य चाहिनेमा केही केन्द्रीय सदस्यको नक्कली हस्ताक्षर गरेर ६४ जना पु¥याएको उनको भनाइ छ ।

अध्यक्ष थापाले पार्टी विभाजनले लाखौँ राष्ट्रवादी जनतालाई चोट पुगेको भन्दै विगतमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने बताए ।