समाचार

राष्ट्रपतिको गुनासो : बालबिवाह अन्त्य गर्ने कार्यक्रम प्रभावकारी भएन

काठमाण्डौ, २६ साउन । राष्ट्रपपति विद्यादेवी भण्डारीले बालविवाह अन्त्य गराउने सरकारको कार्यक्रम प्रभावकारी नभएको बताएकी छिन् ।

वल्र्ड भिजन इन्टरनेसनल र सामुदायिक रेडियो प्रसारक संघले बिहीबार राजधानीमा संयुक्तरुपमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले बालविवाह रणनीति २०७२ सुरु भइसक्दा पनि बालविवाह उल्लेख रुपमा अन्त्य नभएको भन्दै सरकारी कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेकी हुन् । बालविवाहकै कारण बालिकाहरुले शारीरिक र मानसिक समस्या भोग्नुपरेको भन्दै उनले आर्थिक र सामाजिक विकासमा बालविवाह बाधक रहेको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले समाजमा व्याप्त कुप्रथाले देशको समग्र आर्थिक विकासमा नै नकारात्मक प्रभाव पारेको हुँदा सबै मिलेर त्यसको अन्त्य गर्नुमा जोड दिइन् । बालविवाहका कारण बालबालिकाको अधिकार मात्र हनन् भइरहेको छैन यसले मुलुकको समग्र पक्षलाई असर गरिरहेको छ भन्दै भण्डारीले सबै मिलेर बालबालिकालाई उचित शिक्षा दीक्षा प्रदान गर्ने अवसरको सिर्जना गर्दै मानवअधिकारको प्रत्याभूति गराउन आग्रह गरिन् ।

विशेषगरी बालिका र महिलाको सन्दर्भमा बालविवाहले एउटामात्र अधिकारको उल्लंघन नगरी उनीहरूको जीवनचक्र नै हिंसामा पर्ने गरेको भन्दै राष्ट्रपति भण्डारीले दृढ संकल्प गरी सबै मिलेको खण्डमा आधुनिक सभ्यतालाई नै कलंकित बनाउने बालविवाहजस्ता कुप्रथाको अन्त्य गर्न सकिने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला खनालले बालविवाह रोक्न आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताइन् । यस्तै, कानुनमन्त्री यज्ञबहादुर थापाले बालविवाह रोक्न बलियो कानुन बनाउन आफू प्रतिवद्ध रहेको बताए । २० वर्ष नपुगी हुने विवाह स्वतः खारेज हुने र बालविवाह गराउनेलाई तीन वर्षको सजाय र ३० हजार रुपैयाँसम्मको जरिवाना हुने कानुन ल्याउने उनीहरुको भनाइ थियो ।