राजनीति

संविधान संशोधन बेमौसमको बाजाः पूर्वप्रधानमन्त्री खनाल

इलाम, २६ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताएका छन् ।
“यो बेमौसमको बाजा हो, संविधान कार्यन्वयनका बेला संशोधन प्रस्ताव पारित हुनै सक्दैन”, उनले भने ।

इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता खनालले राजपालाई चुनावमा भाग लिन आग्रह गर्दै माघ ७ गतेभित्र प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनलाई सार्थकता बनाउन सके निर्वाचनपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताए ।

आगामी असोज २ गते २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पनि आफ्नो दल पहिलो हुने दाबी गर्दै उनले त्यसका लागि चुनावी प्रचारप्रसारमा लाग्न पार्टीले निर्देशन दिइसकेको बताए ।

वरिष्ठ नेता खनालले सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर, श्रीअन्तु, समालबुङ लगायतका स्थान पर्यटकीय सम्भावनायुक्त भएकाले यी क्षेत्रको विकास र समृद्धिका लागि नयाँ–नयाँ योजना ल्याएर पर्यटन क्षेत्रको विकास गर्न पनि पार्टीका निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।