समाचार

३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा, काठमाण्डौमा केदारनाथ शर्मा

काठमाण्डौ, २६ साउन । गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । काठमाडौंको प्रजिअमा केदारनाथ शर्मा तानिएका छन् । यसअघि काठमाडौंको प्रजिअ रहेका बालकृष्ण पन्थी भने शिक्षा मन्त्रालयमा पुगेका छन् । गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको हो ।

रुपन्देहीमा रहेका प्रजिअ विनोद प्रकाश सिंहलाई पर्सामा र बाग्लुङमा रहेका ऋषिराम तिवारीलाई झापामा सरुवा गरिएको छ । यस्तै गृह मन्त्रालयमा रहेका रामप्रसाद आचार्यलाई मोरङमा, श्यामप्रसाद भण्डारीलाई धादिङमा, बाबुराम श्रेष्ठलाई महोत्तरीमा र भागीरथ पाण्डेलाई सप्तरी पठाइएको छ । सप्तरीका प्रजिअ रहेका कृष्णप्रसाद कटुवाललाई राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा र महोत्तरीमा रहेका विरेन्द्रकुमार यादवलाई गृहमन्त्रालयमा तानिएको छ । यस्तै धादिङमा प्रजिअ रहेका महेश आचार्यलाई स्याङ्जा पठाइएको छ ।

जनार्दन शर्मा ‘प्रभाकर’ गृहमन्त्री भएपछि प्रजिअ सरुवा भएको यो पहिलो पटक हो ।