उर्जा

आन्दोलित पेट्रोलियम व्यवसायीसंग आज सरकारले वार्ता गर्दै

काठमाण्डौ, २६ साउन । सरकारले बिहीबार आन्दोलनरत पेट्रोलियम व्यवसायीसँग वार्ता गर्दैछ । दिउँसो १ बजे आपूर्ति मन्त्रालयमा आपूर्ति मन्त्री र सचिवसहित नेपाल आयल निगमका पदाधिकारीले पेट्रोलियम व्यवसायीसँग वार्ता गर्न लागेका हुन् ।

यसअघि हिजो नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको परिमाणमा देखिएको समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको भन्दै आजदेखि मुलुकभरका सबै इन्धन डिपो तथा विक्रि केन्द्रबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने/नगराउने जनाएको थियो । एशोसियसनले साउन २९ गते भित्र पनि माग पुरा नभए ३० गतेसम्म सबै मौज्दात इन्धन विक्रि गरी ३१ गतेबाट देशैभरका पेट्रोल पम्प बन्द गर्ने उल्लेख गरेको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलको ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानी आयल निगमले व्यहोर्नुपर्ने माग गर्दै आएको छ । पेट्रोलियम पदार्थको ढुवानी गर्दा क्यालिव्रेशन मापन तथा तापक्रमले परिमाणमा फरक पर्न गएकाले व्यवसायीलाई ठुलो आर्थिक भार परेको एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानको दाबी छ । भारतीय आयल कर्पाेरेसनले नेपाल आयल निगमलाई उपलब्ध गराउने पेट्रोल डिपो हुँदै पम्पमा आइपुग्दा चार हजार लिटरमा पेट्रोलमा ९९ लिटर र सोही परिमाणको डिजेलमा ६० लिटर कम हुने गरेको उनको भनाई छ ।

एसोसिएसनले माग सम्बोधन नगरे पेट्रोल बिक्री रोक्ने चेतावनी दिएपछि वार्ता हुन लागेको हो । तर निगमले भने बुधबार आवश्य पर्ने पेट्रोल बजारमा पठाइसकेकाले कुनै समस्या नहुने जनाएको छ ।