राजनीति

प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि चीन र भारतले गरे काठमाडौमा एक्कासि यस्तो तयारी !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही हप्ताभित्रै भारतको राजकीय भ्रमण गर्दैछन् । प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्किनु अघि छिमेकी दुई मुलुकका उच्च अधिकारीले समेत नेपालको भ्रमण गर्दैछन् ।

भारतबाट विदेशमन्त्री सुश्मा स्वराज र चीनबाट उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गर्दैछन् । भारतीय विदेशमन्त्री स्वराज बिमस्टेक बैठकका लागि केहीबेरमै काठमाण्डौ अवतरण गर्दैछिन् भने चिनियाँ उपप्रधानमन्त्री वाङ साउन ३० गते काठमाण्डौ अवतरण हुँदैछन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण, दुई छिमेकी मुलुकका सरकारका उच्चस्तरीय मन्त्रीमण्डलको भ्रमण र भारत–चीनबीच पछिल्लो समयमा देखिएको सीमा विवादलाई दक्षिण एसियाली कुटनीतिक मामलामा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो बेला छिमेकीहरुले नेपालसँग आफ्नो आधिकारिक धारणा माग्ने सम्भावना देखिदै गएको छ । बिमस्टेक बैठकका क्रममा काठमाण्डौमा हुँदा भारतीय विदेशमन्त्री स्वराजले नेपालसँग भारत,चीन र भुटानको त्रिपक्षीय सीमानामा भएको विवादबारे नेपालको धारणा माग्ने तयारी भैरहेको श्रोतले बताएको छ ।

उनले नेपालले भारतको पक्ष लिने विश्वासका साथ धारणा माग्ने तयारी गरिरहेकी छन् । त्यस्तै, साउन ३० गते काठमाण्डौमा आउने चिनियाँ उपप्रधानमन्त्री वाङ याङको टोलीले पनि प्रधानमन्त्री देउवा लगायत प्रमुख दलका शीर्ष नेताहरुसँग समेत भेटवार्ता गर्ने जनाइएको छ ।

चिनियाँ मन्त्रीमण्डलले भूकम्पपछिको पूननिर्माणका सवालमा समेत सम्झौतापत्रमा हस्ताक्षर गर्ने जनाइएको छ । चीनले वसन्तपुर दरबार, दरबार हाइस्कुल लगायतका संरचनाको पूननिर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्ने जनाइएको छ ।

चिनियाँ उपप्रधानमन्त्री वाङको सो भ्रमण त्यतिमा मात्र केन्द्रीत नहुने श्रोतको दाबी छ । उनले पछिल्लो समयमा चीन र भारतबीच देखिएको तनावका बारेमा नेपालको धारणा समेत माग्नेछन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा हुने यी भेटवार्ताले नेपालको इतिहासमै महत्वपूर्ण अर्थ राख्ने राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् । किनभने चीन र भारतबीच भएको डोकलाम विवादले दक्षिण एसियाको कुटनीतिनै तरंगित भैरहेको छ ।

दुवै देश युद्धकै तयारीमा जस्तो देखिएका छन् । त्यही बीचमा नजिकै रहेका छिमेकीहरुको समर्थन आ–आफ्नो पक्षमा पार्नु उनीहरुको स्वार्थ स्वाभाविक पनि हो, किनभने कुनै पनि सीमा विवादमा छिमेकीको समर्थनले ठूलो अर्थ राख्ने गर्छ । त्यसैले भारत भ्रमणमा निस्किन थालेका प्रधानमन्त्री देउवाका लागि दुवै देशको दबाब चूनौतीको विषय बन्दै गएको देखिन्छ ।

नेपालको तयारी यस्तो !
प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा दुवै देशबाट आउन सक्ने दबाबलाई मध्यनजर गर्दै नेपालले पनि आफ्नो तयारी गरिरहेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले डोक्लाम विवादबारे नेपालको धारण मागिए आफ्नो देशले पनि त्यसको जवाफ दिने तयारी भैरहेको बताउँदै आएका छन् । नेपालले योबेला कुनै छिमेकीको पक्ष वा विपक्ष नलिने नीति लिएको छ ।

नेपालले डोक्लाम सीमा विवादबारे ‘तटस्थताको नीति’ लिएको छ । दुवै देशका उच्चस्तरीय मन्त्रिमण्डलको टिमलाई प्रधानमन्त्री देउवा र परराष्ट्र मन्त्रालयले यही कुराको ब्रिफ्रिङ गर्ने तयारी भैरहेको श्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा पनि नेपालले तटस्थताको नीति लिएकोले सो विवादमा आफ्नो देशले कसैको पक्ष वा विपक्षमा नबोल्ने कुराको जानकारी गराउने तयारी भैरहेको बताइएको छ ।