खेलकुद

बार्सिलोनाको प्रयास असफल !

एजेन्सी ।  नेइमारको ठाउँमा अर्का ब्राजिलियन खेलाडी फिलिप कोन्टिन्होलाई अनुबन्ध गर्ने बार्सिलोनाको प्रयास असफल भएको छ । ब्राजिलियन फरवार्ड नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि बार्सिलोनाले लिभरपुलका कोन्टिन्होलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर लिभरपुलले कोन्टिन्होका लागि आएको १०  करोड युरोको प्रस्ताव अस्वीकार गरेको छ ।

कोन्टिन्होका लागि बार्सिलोनाले गरेको यो दोस्रो प्रस्ताव हो । यसअघि बार्सिलोनाले सन् २०१३ मा पनि उनलाई क्लब भित्र्याउने प्रयास गरेको थियो । तर त्यसबेला उनी इटालियन क्लब इन्टर मिलानबाट लिभरपुल गएका थिए ।

कोन्टिन्होले गएको सिजन लिभरपुलका लागि १४ गोल गरेका थिए । गएको जनवरीमा लिभरपुलसँग  पाँच वर्षको नयाँ सम्झौता गरेका कोन्टिन्हो चोटका कारण ६ हप्ताका लागि मैदान बाहिर छन् । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले कोन्टिन्हो बिक्रीमा नरहेको भन्दै अब यो विषयको कुराकानी बन्द हुनु पर्नेब बताएका छन् ।