अन्तर्राष्ट्रिय

केन्याको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति नै अगाडि

विपक्षीद्वारा धाँधली भएको आरोप

नैरोबी, २५ साउन । केन्यामा मङ्गलबार भएको राष्ट्रपतीय आमनिर्वाचनको मतगणना सुरु भएको छ । यस मत गणनामा हालका राष्ट्रपति उहुरु केन्याटाले अग्रता कायम गरेका छन् ।

पूर्वी अफ्रिकाको धनी देशको रुपमा रहेको यस राष्ट्रमा भएको राष्ट्रपति निर्वाचनको नतिजाको अर्का उम्मेदवार राइला ओडिङ्गाले भने असहमति व्यक्त गरेका छन् ।

उनले यस निर्वाचनको विरोघ गर्दै परिणाम पनि नक्कली भएको दावी गरेको प्राप्त समाचारमा जनाइएको छ ।

देशका विभिन्न मतदान केन्द्रहरुमा ९० प्रतिशत गणना सकिएको यस अवस्थामा ५४.६ प्रतिशतको हिसावले उनी अघि रहेका र उनका निकटतम प्रतिद्वन्द्वी ओडिङ्गा भने ४४.५ प्रतिशत मतले अगाडी बढेका छन् ।

अन्तिम गणनाका अनुसार १३ लाख मतको फरक परेको जनाइएको छ । ओडिङ्गाले एक पत्रकार सम्मेलनको क्रममा निर्वाचन परिणाम नक्कली र धाँधलीपूर्ण भएको आरोप लगाएका छन् ।

केन्यामा चुनावको प्रमुख मुद्दा जातीयता रहने गरेको पाइन्छ । धेरै मतदताले साम्प्रदायिक आधारमा मतदान गर्ने गरेका छन् ।

मतदान सुरु हुनुभन्दा केही घन्टा अगाडि नै राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै आदिवासी किकुयु जातिका नेता एवम् राष्ट्रपति उहुरु केन्याटाले मतदातालाई धम्की र हिंसाको दबाबमा नपर्न सुझाव दिएका थिए ।

यस निर्वाचनमा जसले जित हात पारे पनि एकवद्ध हुनुपर्ने भन्दै उनले निर्वाचनमा संयमता अपनाउन बारम्बार आग्रह गरेका थिए ।

यस निर्वाचनमा एक करोड ९० लाखभन्दा बढी मतदाताले मतदानको लागि नाम दर्ता गराएका थिए ।

यस अफ्रिकी राज्य केन्यामा सन् २०१३ मा भएको विवादित निर्वाचनको क्रममा भएको हिंसा हत्यामा परी कम्तीमा पनि एक हजार ३०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ लाख विस्थापित हुनुपरेको थियो ।

यसैगरी प्राप्त अर्को एक समाचारमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस् तथा अरु विदेशी समुदायले केन्यामा शान्तिपूर्ण निर्वाचनको लागि आह्वान गरेका छन् ।