राजनीति

मेलम्ची आयोजनाको काम छिटो सम्पन्न गर, पैसाको चिन्ता नगर : प्रधानमन्त्री

सिन्धुपाल्चोक, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम छिटो सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन् ।

आयोजनाको स्थलगत निरीक्षणका लागि बुधबार मेलम्ची पुगेका प्रधानमन्त्री देउवाले पैसाको कुनै चिन्ता नलिइ तीव्र रुपमा काम अगाडि बढाउन निर्देशन दिए । १७ वर्षदेखि काठमाडौंमा पानी ल्याउँने कुरा मात्र हल्ला जस्तो भएको भन्दै प्रधानमन्त्री देउवाले साधन, स्रोत, पैसा कुनैपनि कुराको चिन्ता नलिएर काम पूरा गर्न निर्देशन दिए ।
हेलिकोप्टरमा मेलम्ची पुगेका प्रधानमन्त्री देउवाले आयोजनास्थलको इन्टेक ड्याम र टनेलकोसमेत अवलोकन गरेका थिए । टोलीमा सन्चरमन्त्री मोहनबहादुर बस्नेत, खानेपानीमन्त्री महेन्द्र यादव, सांसद शेरबहादुर तामाङलगायत रहेका थिए ।

आगामी दसैंसम्म काठमाडौंमा मेलम्चीको पानी पुग्ने भनिएपनि त्यो सम्भावना टरेकोले पुससम्ममात्रै पानी पुग्नसक्ने आयोजनाले बताएको छ ।