पर्यटन/संस्कृति

जहाज खरिद प्रक्रियाको विस्तृत विवरण पेश गर, नेपाल वायुसेवा निगमकै विमान चड : लेखा समिति

काठमाण्डौ, २५ साउन । व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइड बडी जहाज खरिद प्रक्रियाको विस्तृत विवरण पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले जहाज खरिदमा हालसम्म भएका भुक्तानी, रकम सुरक्षित हुने संयन्त्र, खरिद मुल्यको सम्झौता र सर्तसम्बन्धी सम्पुर्ण विवरण समितिमा पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्रालय र नेपाल वायु सेवा निमगलाई निर्देशन दिएको हो ।

समितिले इन्जिनियरिङ, व्यवस्थापन लगायत सुधार गरी त्यसको प्रगति विवरण १ महिना भित्र समितिमा उपलब्ध गराउन निगमलाई भनेको छ । जहाज खरिदपछिको संचालनको योजना, सो योजनाको कार्यविधि समितिले यसअघि बुझाएपनि संचालन योजना सन्तोषजनक नभएको भन्दै पुनः समितिमा उपलब्ध गराउन निर्देशन दिएको समिति सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले दुईवटा वाईड बडीको आवश्यकता भएकाले प्रक्रिया अघि बढाएको र २०७५ जेठ महिनासम्ममा आईपुग्ने बताए । जहाज खरिद टेण्डरमा विवाद सृजना भएका कारण ढिलाई भएको बताउदै कंसाकारले दुई वटा वाइड बडी जहाज खरिदका लागि ८ अर्ब भुक्तानी भइसकेको र १६ अर्ब भुक्तानी बाँकी रहेको उल्लेख गरे । निगमको आन्तरिक व्यवस्थापन कमजोर भएको गुनासो आएकाले त्यसको सुधारका लागि आफु गम्भीर भएर लागि परेको महाप्रबन्धक कंसाकारको भनाई थियो । समिति बैठकमा सांसदहरुले कमजोर ब्यवस्थापनका कारण निगमको सेवा प्रभावकारी हुन नसकेको भन्दै तत्काल सुधारको खाँचो औल्याएका थिए ।

यस्तै समितिले सार्वजनिक पद धारण गरेका व्यक्ति तथा निजामती कर्मचारीलाई हवाई यात्रा गर्दा नेपाल वायुसेवा निगमको विमान मात्र प्रयोग गर्न भनेको छ ।