राजनीति

केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गर्न सकिन्छ : प्रचण्ड

रुपन्देही, २५ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताएका छन् ।

पे्रस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुवै तहको निर्वाचन मंसिरको पहिलो साताभित्र हुन सक्ने सम्भावना रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष दाहालले प्रदेश र केन्द्रको चुनाव एकैदिन गराउन सम्भव हुने र यसका लागि कुनै संवैधानिक अप्ठ्यारो नपर्ने उल्लेख गर्दै गरे । उनले एउटै मतपत्र र बाकस बनाएर एकैदिन केन्द्र र प्रदेशको निर्वाचन गराउन सकिने उल्लेख गरेका छन् ।

केन्द्र र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने विभिन्न विकल्पमा दलबीच छलफल भइरहेको र छिट्टै सहमतिमा पुगेर निर्वाचन घोषणा हुने बताउदै दाहालले प्रत्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई पनि समानुपातिकको मान्ने, धेरै मतदाता भएका मतदान केन्द्रमा बुथ संख्या थप्ने र एकै चरणमा निर्वाचन गर्न सकिने विकल्पहरुमा छलफल भइरहेको स्पष्ट पारे । केन्द्र र प्रदेशको एकैदिन निर्वाचन भए चुनाव खर्च न्यून हुने भन्दै दाहालले नेपालको सन्दर्भमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक हुने धारणा राखे ।

यसैबीच, तेस्रो चरण अन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता दल पनि सहभागी हुने विश्वास व्यक्त गर्दै उनले राजपा निर्वाचनमा नआए उसका लागि राजनीति आत्मघाती हुने बताएका छन् । पे्रस सेन्टर रुपन्देहीका अध्यक्ष भुवन कार्कीको अध्यक्षता सो कार्यक्रम सम्पन्न भयो । पार्टीको प्रदेश नं ५ स्तरीय आन्तरिक कार्यकर्ता भेलामा सहभागी हुन दाहाल बुटवल आएका हुन् ।