स्वास्थ्य

स्वाइनफ्लूका कारण हालसम्म १० जनाको मृत्यु : स्वास्थ्य मन्त्री

काठमाण्डौ, २५ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी स्वाइनफ्लुका कारण हालसम्म १० जनाको मृत्यु भइसकेको बताएका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्रीले पोख्रेलले स्वाइनफ्लूका कारण १० जनाको मृत्यु हुनुकासाथै ३ सय ८१ जना बिरामी देखापरेको बताएका हुन् ।
उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारीको रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरेका छन् ।

बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले विधेयक तयार गर्दा कार्यपालिकाले हस्तक्षेप नगर्न आग्रह गरेका थिए । उनले संसद्को प्रक्रिया र मर्यादालाई पालन गर्नेतर्फ संसद्ले बोल्नुपर्ने धारणा राख्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रीले आगामी दिनमा संसद्को मर्यादा राख्न सभामुखबाट रुलिङ हुनुपर्नेमा जोड दिएका थिए ।