समाचार

आज २३ औ विश्व आदिवासी अन्तराष्ट्रिय दिवस

काठमाण्डौ, २५ साउन । २३ औं विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदैछन् । दिवसको अवसरमा राजधानीको राष्ट्रिय सभा गृहमा आदिवासी खाना महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा आदिवासी जनजाती समुदायका परिकारको स्टल राखिएको छ । यस्तै जिल्लामा पनि विभिन्न कार्यक्रम आयोजना गरीएको छ ।

संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि त्यसयता प्रत्येक वर्ष अगस्त ९ मा विश्व आदिवासी दिवस मनाउन थालिएको हो । मुलुकमा कुल जनसंख्याको करिव ३७ प्रतिशत जनसंख्या आदिवासी जनजातिको रहेको छ । ५९ समुदायलाई आदिवासी जनजातिको रुपमा सूचिकृत गरिएको छ ।

नेपालले सन् २००७ मा आईएल कन्भेन्सनलाई अनुमोदन गरेपछि चाल्नुपर्ने कदमको सम्बन्धमा एक कार्यदल गठन गरेर राष्ट्रिय कार्ययोजना समेत बनाएको तथा त्यसको आधारमा संशोधन र परिमार्जन गर्नुपर्ने नीति, कानून र स्थापना गर्नुपर्ने संस्थाहरू तय गरिसकेको छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । यद्यपि अनुमोदनपश्चात नेपाल सन्धि ऐन अनुसार यसका प्रावधानहरू नेपाल कानूनसरह मानिइसकिएको छ ।