समाचार

मिल्दैन कुरा, तोडिएन अनशन ! डा. केसीको समर्थनमा आजदेखि १६ सय चिकित्सक आन्दोलित !

काठमाण्डौ, २५ साउन । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १७ औं दिन पनि डा.गोविन्द केसी अनशनमै छन । उनको समर्थनमा मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक आजदेखि आन्दोलनमा उत्रने भएका छन् ।
सरकारी उदासिनताको विरोधमा उनीहरुले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् । सरकारी चिकित्सक संघ गोडानले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
संघको मंगलबार बसेको आकस्मिक बैठकले डा. केसीका मागमा ऐक्यबद्धता जाहेर गर्दै यस्तो निर्णय गरेको हो । बैठकले डा.केसी आमरण अनसनमा बसेको लामो समयसम्म पनि माग पूरा गर्न सरकार संवेदनशील नभएको निष्कर्ष निकाल्दै दबाब दिने पनि निर्णय गरेको छ । मुलुकभर प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय तहका अस्पतालसम्म करिब १ हजार ६ सय सरकारी चिकित्सक छन् ।
यसैबीच आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति झनै जटिल भएको छ । अनसन लम्बिँदै जाँदा स्वास्थ्यस्थितिमा जटिलता थपिँदै गएको उनको उपचारमा संलग्न चिकित्सक प्रा.डा.दिब्यासिंह शाहले जानकारी दिए । डा.केसीको अहिले घाँटी दुख्ने समस्यासमेत देखिएको छ । बोल्दा धड्कन बढ्ने गरेको र हातसमेत सुन्निएको छ । डा.केसीमा टाउको र जीउ दुख्ने, मांसपेसी बटारिने समस्या यथावत छ । शरिरमा चाहिने आवश्यक तत्वसमेत कम हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।