समाचार

निसंतान पत्रकार बोहरा दिवंगत भएको केहि महिनामा नै पत्नीको मृत्यु

भीमदत्तनगर, २५ श्रावण । कञ्चनपुरका स्वर्गीय पत्रकार कर्ण बोहराको मृत्यु भएको आठ महिनापछि उहाँकी पत्नी ममताको मंगलबार बिहान मृत्यु भएको छ ।

मिर्गौला रोगबाट ग्रसित ममताको भारतको उत्तराखण्डस्थित खटिमामा उपचारका क्रममा मृत्यु भएको उनका भाई गणेश थापाले जानकारी दिए। मिर्गौला प्रत्यारोपणका लागि भारतको मेदान्त अस्पतालमा रहनुभएका उनलाई प्रत्यारोपणको प्रक्रियामा लैजाँदै गर्दा क्षयरोगसमेत देखिएको थियो ।

उनको बुधबार महाकाली नदीमा अन्त्येष्टि गरिने बताइएको छ ।

आठ महिनाअघि पत्नी ममतालाई काठमाडौँमा उपचार गराइरहेका बोहराको कुरुवा बसेकै अवस्थामा अचानक निधन भएको थियो । २०३५ असार २२ गते बझाङको स्याँडी गाविस–६ मा जन्मिनुभएका बोहरा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २०६८ देखि २०७१ सम्म अध्यक्ष रहेका थिए ।

बोहरा महेन्द्रनगरबाट प्रकाशित हसने पत्रिका तथा रेडियोमा स्थापीत पत्रकारको रुपमा परिचित थिए । बोहोरा दम्पती नि:सन्तान भएको पत्रकार माहासंघका अध्यक्ष महेन्द्र बिष्टले बताए ।