पु.समाचार

सरकारलाई दिएको समर्थन फिर्ता–राप्रपा

काठमाण्डौ, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आइतबार र सोमबार राजधानीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले वर्तमान शेरबहादुर देउवा सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।

देउवा सरकार मधेसका समस्या समाधान गर्न असफल भएको, राप्रपा फुटाउन भूमिका खेलेको र आत्मसमर्पणवादी बनेकाले समर्थन फिर्ता लिएको उनको भनाइ थियो । राष्ट्रियता र हिन्दुराष्ट्रको मुद्दा कमजोर बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्वले पार्टी फुटाएको र सत्तालोलुप व्यक्तिहरु हतियार बनेको राप्रपाको ठहर छ ।

बैठकले छुट्टै पार्टी गठनका लागि ४० प्रतिशत नपुगेको भन्दै पशुपतिशम्शेर राणा समूहको दल दर्तासम्बन्धी निवेदन खारेज गर्न पनि निर्वाचन आयोगलाई आग्रह गरेको छ । बैठकले डा. गोविन्द केसीका माग पूरा गरी उनको जीवनरक्षाको माग पनि गरेको छ ।