राजनीति

मुलुकी ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित हुने तयारीमा – मन्त्री थापा

पोखरा, २४ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मुलकी ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटै पारित हुने तयारी भइरहेको बताएका छन् ।

नेपाल महिला संघको ७० औँं स्थापना दिवसका अवसरमा संघको कास्कीद्वारा आज यहाँ आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उनले लामो समयसम्म पुरानो मुलुकी ऐन सञ्चालनमा आइरहेका कारण समसामयिक परिवर्तन समेतलाई आत्मसात् गरी नयाँ ऐन ल्याउन लागिएको जानकारी दिए ।

सकेसम्म भोलि नै संसद्बाट सो सम्बन्धी विधेयक पारित हुने र आवश्यक अन्य कानून पनि चाँडो ल्याउने गृहकार्य भइरहेको उनले उल्लेख गरे । नेपालको प्रजातान्त्रिक आन्दोलनमा संघले निर्वाह गरेको भूमिकाका सम्बन्धमा पनि मन्त्री बस्नेतले चर्चा गरे ।

संविधान कार्यान्वयनका लागि तीनवटै निर्वाचन सम्पन्न हुनुआवश्यक भएकामा जोड दिँदै उनले निर्धारित समयभित्रै सबै निर्वाचन सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए ।

सांसद शारदा पौडेलले जहानीया राणाशासनको अन्त्य हुँदै पञ्चायती व्यवस्थाको अन्त्य र लोकतान्त्रिक आन्दोलनमा महिला संघकोे अग्रणी स्थान रहेको बताईन् ।

काठमाडौँं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, संघका जिल्लासभापति कोपिला रानाभाट लगायतले महिला सशक्तिकरणमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोमा जोड दिए ।