मनोरञ्जन

बानेश्वरमा कलाकारको गाईजात्रे रौनक, प्रदिप खड्काको देखियो क्रेज, राजारामको गीतमा रमाए दर्शक !

काठमाण्डौ, २४ साउन । रेडियो अडियो र न्युज २४ को संयुक्त प्रस्तुतीमा आज बानेश्वरमा आयोजित गाईजात्राको रौनक निक्कै तात्यो । मध्यान्हको समय तातो घामको बिना प्रवाह दर्शकको भिड बाक्लै देखिन्थ्यो । हरेक बर्ष झै नेपाली कलाकर्मीले देखाउदै आउने गाईजात्रे प्रस्तुतीमा यस पटकपनि धेरै जसो कलाकारसंगै उभिए ।

नेपाली चलचित्र छक्का पञ्जाको युनिटसंगै प्रेम गीत २ का नायक नायिकाको प्रस्तुती पनि दर्शकका लागि निकै आकर्षक बन्यो । कलाकार राजाराजेन्द्र पोख्रेल र मनोज गजुरेलको ब्यङग्यात्मक प्रस्तुती झनै रोचक थियो । सार्वजनिक बिदाको दिन दर्शकले आनन्दले सो प्रस्तुतीलाई नियाल्न पाएका भएपनि ट्राफिकलाई भने यातायात र पार्किङलगायतको ब्यवस्थापनमा निक्कै हम्मे परेको थियो ।

कार्यक्रममा प्रेम गीतका नायक प्रदिप खड्का जब स्टेजमा देखिए, युवा जमातको भिड एक्कासी बढ्यो । नायक खड्काले स्टेजमा दुई लाइन सायरी पनि भन्न भ्याउदा दर्शक झनै दंग परे । अहिले युवा पुस्ताले रुचाइएका नायक खड्काको प्रस्तुतीका क्रममा उनका प्रसंशकले स्टेज अगाडी नै घेरीसकेका थिए । खड्कासंगै नायिका अश्लेषा ठकुरीले आइलभ यूलाई बर्मेली भाषामा के भन्छन् ? भन्दै दर्शकमाझ प्रस्तुत भएकी थिइन । नायिका ठकुरीले चलचित्र प्रेम गीत २ को प्रसंग उल्लेख गर्दे एक पटक हेरिदिन पनि अनुरोध गरिन् ।

कार्यक्रममा धेरै जसो समय देखिएका कलाकार राजाराजेन्द्र पोख्रेलले गाईजात्राका क्रममा चलचित्र र कलाकारकै बढी चर्चा भएको भन्दै नेताहरुको चरित्रकाबारेमा छोटो प्रस्तुती दिएका थिए । पोख्रेलले स्थानिय तहको चुनाबपछि नेताहरुले एयरपोर्टमा बसेर यसरी एकल गीत गाउछन् भन्दै ब्यङग्यात्मक शैलीमा मिठो गीत पस्किदा दर्शक निक्कै उत्साहित हुदै रमाएका थिए । त्यस अघि छक्कापञ्जाको यूनिटले निककै रमाइलो प्रस्तुती दिएको थियो । भने क्यारिकेचर गर्दे आएका सुबोध गौतमले पनि मान्छेको बिभिन्न अवस्था र भाषाका बिषयमा क्यारिकेचर गरेका । कार्यक्रममा कमल गाउँले, सुमन कार्कीलगायतले पनि आफ्ना प्रस्तुती दिएका थिए ।