राजनीति

जिससमा काँग्रेसबाट बागी, एमालेले प्रमुखमा उम्मेदवारी दिएन

बैतडी, २४ साउन । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भएको छ ।

जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेको छ भने केही पदमा एमालेले पनि उम्मेदवारी दर्ता गरेको छ ।

जिल्ला समन्वय समितिको प्रमुख पदमा काँग्रेसको तर्फबाट सिद्धराज भट्टको मनोनयन दर्ता भएको छ । एमालेले भने प्रमुख पदमा उम्मेदवारी दिएको छैन ।

प्रमुख पदमै स्वतन्त्रबाट गजेन्द्रबहादुर चन्दको पनि मनोनयन दर्ता भएको छ । उनले काँग्रेसको तर्फबाट सदस्य जितेका थिए । यस्तै उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट धनबहादुर बोहरा र एमालेबाट लक्ष्मणदत्त भट्टको उम्मेदवारी दर्ता भएको छ ।

दलित तथा अल्पसंख्यक सदस्यका लागि काँग्रेसबाट टेक लुहारको मात्रै मनोनयन दर्ता भएको छ । तीनजना खुला सदस्यमा काँग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, एमालेका तर्फबाट खुला सदस्यका लागि हरिसिंह महराको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिए ।

यसैगरी, तीन महिला सदस्यका लागि काँग्रेसबाट हरु जोशी र गीता जोशी तथा माओवादी केन्द्रबाट कुमारी हेमा भट्ट कपाडीको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै एमालेबाट गोमती लावड लुहार, कल्पनाकुमारी क्षेत्री राना र जयन्ती पन्तको उम्मेदवारी दर्ता भएको छ । जिल्ला समन्वय समितिको निर्वाचन यही साउन २९ गते हुनेछ । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने मुख्य निर्वाचन अधिकृत शाहले बताए ।

यसैबीच, जिल्ला समन्वय समितिमा काँग्रेस र माओवादी केन्द्रबीच मिलेर जाने सहमतिअनुसार मनोनयन दर्ता गरेको काँग्रेसका जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।

दुवै पार्टीको सोमबार बसेको बैठकले उपप्रमुख र एक महिला सदस्य माओवादी केन्द्रलाई दिने र अन्य पदमा माओवादी केन्द्रले काँग्रेसलाई सहयोग गर्ने निर्णय भएको पाण्डेयले जानकारी दिए । काँग्रेस र माओवादी केन्द्र मिलेर २० मतमध्ये १२ मत छन् भने एमालेसँग आठ मत रहेको छ ।

बैतडीमा नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने जिल्ला सभाको पहिलो बैठकले निर्णय गरिसकेको छ ।