राजनीति

झापावासीले कृष्ण सिटौलामार्फत बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

भद्रपुर । नेपाली काँग्रेस ३ नं क्षेत्रीय समिति झापाले यस क्षेत्रमा जंगली हात्ती नियन्त्रण गर्न आवश्यक कार्ययोजनाको माग गर्दै नेता कृष्णप्रसाद सिटौलामार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएको छ ।

ज्ञापनपत्रसहित करिब तीन हजार पीडित जनताको हस्ताक्षर पनि पठाइएको छ । क्षेत्रीय सभापति गणेशप्रसाद पोखरेल र सचिव गीताप्रसाद भट्टराईले हस्ताक्षर गरी पठाइएको ज्ञापनपत्रमा ‘जलथल जंगलमा आश्रय लिई बसेका जंगली हात्तीको समूहले यस क्षेत्र र यसका साबिकका छिमेकी गाविस चन्द्रगढी, भद्रपुर, महेशपुर, पृथ्वीनगर, बनियानी, बालुवाडी, पथरिया, केचना, चकचकी, राजगढ, हल्दीबारी, जलथल, गोलधाप र बारदशीलगायतमा जंगली हात्तीको प्रकोप नियन्त्रण गर्न विशेष कार्ययोजनासहित काम गरियोस्’ भन्ने उल्लेख छ ।

ज्ञापनपत्रमा जंगली हात्तीले घर भत्काउने, अन्न बाली खाइदिने, मान्छे मार्ने र घाइते बनाउने जस्ता कार्य निरन्तर जारी राखेकाले यसअघिको सरकारका वनमन्त्रीलाई पनि जिल्ला वन कार्यालयमार्फत नियन्त्रणका लागि कार्ययोजना पेस गरिसकेको स्मरण गराउँदै सो कार्ययोजना लागू गर्न माग गरिएको छ ।

सो अवसरमा पीडितका तर्फबाट जलथलका दिलीप मावोले जंगली हात्तीका कारण रातमा पनि सुत्न नसकिएको र दिनमा पनि ढुक्क हुन नसकेको अवस्थाबारे जानकारी गराउँदै नियन्त्रणको योजना चाँडो कार्यान्वयनका लागि आग्रह गेरे ।

ज्ञापनपत्र बुझ्दै सांसद सिटौलाले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्रसहित हस्ताक्षर बुझाउने प्रतिबद्धता प्रकट गर्दै जलथल जंगलको संरक्षणका साथै जंगली हात्तीको प्रकोप नियन्त्रणका लागि बनायएको कार्ययोजना वन मन्त्रालयमार्फत लागू गराउन प्रयास गरिने आश्वासन दिएका छन् ।

खासगरी यसअघि भारतको फारसबाट नेपाल पसेर झापाकै बाहुनडाँगीमा उपद्रो मच्चाउने जंगली हात्ती नियन्त्रणका विविध उपाय अपनाए पनि देउनीया खोलाको करिडोर प्रयोग गर्दै जलथल जंगललाई आश्रय बनाएर त्यस वरिपरिका गाउँबस्तीमा तिनले आतंक मच्चाउने गरेका छन् ।

सडकको कामप्रति असन्तुष्टि
हुलाकी राजमार्गको फिडर रोडअन्तर्गत निर्माणाधीन चारआली–पृथ्वीनगर, पृथ्वीनगरदेखि केचना र हुलाकी राजमार्गअन्तर्गत झापा चोकदेखि राजगढसम्मको सडकको काममा भइरहेको ढिलासुस्तीप्रति नेता सिटौलाले असन्तुष्टि प्रकट गरेका छन् ।

चारआली–पृथ्वीनगरको ठेक्का लिने ठेकेदार काम छाडेर भागेको हल्लाका विषयमा पत्रकारले राखेको जिज्ञासामा उन्ले सो सडकको कामलाई चाँडै पूरा गर्न नदिन विपक्षी दलको षडयन्त्र रहेकामा राप्रपका कार्यकर्ताप्रति आशंका लागेको बताए ।