कृषि

कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउन पहल गर्छु: कृषि मन्त्री

काठमाडौँ । कृषि विकासमन्त्री रामकृष्ण यादवले कृषि क्षेत्रलाई व्यावसायिक बनाइनुपर्ने बताएका छन् । नेशनल एग्रिबिजनेश इनोभेसन सेन्टरको सोमबार साँझ यहाँ उद्घाटन गर्दै उनले नेपाली कृषि क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन इनोभेसन सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताए ।

“नेपालको दुई तिहाइ जनसंख्या कृषि पेशामा छ तर कृषिको विकास हुन सकेको छैन”,मन्त्री यादवले भने । उनले कृषि विकास रणनीति प्रयोगमा आएको र यसले कृषि विकास क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कृषि विकास मन्त्रालयका सचिव डा.सुरोज पोखरेलले इनोभेसन सेन्टर निर्माणमा मन्त्रालयले सहयोग गरे पनि त्यो निजी क्षेत्रको कार्यक्रम भएको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले कृषि क्षेत्रको विकासका लागि कानुन सच्याउनुपर्ने सुझाव दिए ।

विश्व बैंकका कृषिविज्ञ पूर्णबहादुर क्षेत्रीले कृषि क्षेत्रलाई आधुनिकीकरण नगरेसम्म देशको विकास नहुने उल्लेख गरे । व्यावसायिक कृषि परियोजनाका परियोजना निर्देशक डा.गोविन्दप्रसाद शर्माले साना तथा मझौला व्यवसायीको व्यवसाय वृद्धिका लागि इनोभेसन सेन्टर स्थापना गरिएको स्पष्ट पारे ।