पु.समाचार

सर्वोच्चको ढिलाइका कारण विपक्षीहरुले खेल्ने मौका पाएर पराजय भोगे : नेता ज्ञवाली

चितवन, २३ साउन । नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि सर्वोच्च अदालत जाँदा भएको ढिलाइका कारण पराजय भोग्नु परेको बताएका छन् ।
सर्वोच्च अदालतले मुद्दाको फैसला गर्न समय लगाएका कारण विपक्षीहरुले खेल्ने मौका पाएर पराजय भोग्नु परेको उनको भनाई थियो । उनले आफूले पदीय रुपमा हारे पनि राजनीतिमा जितेको बताएका छन् ।

एमाले चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले भने, ‘स्वभाविक ढंगले रेणुजीले जितेर गएको भए सबै भन्दा पहिला फूलमाला, अविर र गुच्छा सहित स्वागत गर्ने मै हुनेथिँए,’ उनले भने, ‘हार्ने हिसाव किताव गरेर मतपत्र च्यात्ने, राज्य सत्ताको अर्बौ रुपैयाँ चुनावकै बेला रकमान्तर गर्ने, ऐन नियम तोड्ने, यो कुरा मैले भन्नु पर्दैन, गठबन्धनका सांसद रामहरि खतिवडाले सार्वजनिक गरी सकेका छन्, एमालेले लगाएको आरोप होइन ।’

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानका लागि निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो । पहिलोचरणको निर्वाचन वैशाख ३१ गते भएकोमा जेठ १४ गते राति मतगणना हुँदाहुँदै मतपत्र च्यातिएको थियो । त्यसको एक सातापछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

जेठ २१ गते सर्वोच्चमा मुद्दा परेकोमा साउन १५ गते सर्वोच्चले फैसला सुनाएको थियो । यो अवधिमा राज्य सत्ताको चरम दुरुपयोग भएको बताउँदै ज्ञवालीले भने “यो अवधिमा सत्ताको आडमा विकासका नाममा करोडौँं रुपैयाँ रकमान्तर गरियो र झुट्टा विकासे आश्वासन जनतालाई दिइयो ।” तत्काल पुनःनिर्वाचन भएको भए परिणाम भिन्न आउने उनले बताए । आफूलाई हराउनकै लागि मुद्दाको फैसलामा ढिलाइ गरिएको उनको आरोप थियो ।

पत्रकार सम्मेलनमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले पुनःनिर्वाचनको समयमा सत्ताको आडमा नक्कली अनुमतिपत्र बनाएर सवारी साधन प्रयोग गरिएको बताए ।

उनले एमाले भरतपुर महानगरमा १४७ पदमध्ये ७० पदमा विजयी भई पहिलो पार्टी भएको भन्दै नेकपा एमाले जनताप्रति प्रतिबद्ध र जिम्मेवार पार्टी भएकाले यसका प्रतिनिधि भरतपुर महानगरको विकासमा सक्रिय भएर लाग्ने बताए ।

एमालेबाट निर्वाचित वडा अध्यक्ष र सदस्यले आजै शपथ ग्रहण गर्ने पनि उनले जानकारी दिए ।