पु.समाचार

मुलुकमा को–होला पहिलो महिला प्रधानमन्त्री ? यी हुन् प्रधानमन्त्री बन्ने सम्भावना बोकेका नेतृहरु

काठमाण्डौ । नेपालको राजनीतिक इतिहासमा सत्ताको नेतृत्वमा प्रायःपुरुषहरुले आबद्धता बाक्लो देखिन्छ । इतिहासलाई नियाल्दा भीमसेन थापाको पालादेखि अहिलेसम्म नै पुरुषहरु प्रधानमन्त्री भएका छन् । यति लामो राजनीतिक इतिहासमा महिलाहरु त्यो तहमा किन पुग्न सकेनन् ? यो प्रश्नको सहज उत्तर आउन सक्छ, त्यो हो महिलामाथिको विभेदले यस्तो भएको हो । त्यति उत्तरले मात्र यसको पुष्टि हुन सक्दैन ।

वास्तवमा नेपालको राजनीतिक,सामाजिक,आर्थिक,सांस्कृतिक,धार्मिक लगायतका क्षेत्रमा देखिएको सामाजिक अन्तरविरोधको प्रभाव महिला र पुरुषको जीवनशैली र विकासक्रमको अभियानमा परेका कारण यस्तो हुन गएको प्रस्टै छ । तर पछिल्लो समयमा नेपालको राजनीतिक रंगमञ्चमा अब नेपालको पहिलो महिला प्रधानमन्त्री कसलाई बनाउने र कसरी अघि बढ्ने भन्ने कुरामा भित्री बहस सुरु भैसकेको छ ।

राज्यका अन्य अंगहरुमा प्रायः महिलाहरुले नेतृत्व गरिरहेका छन् । न्यायपालिका,कार्यपालिका र व्यवस्थापिकामध्ये न्यायपालिकामा केही महिना अघिसम्म महिलानै सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहेकी थिइन् ।

जसको नेतृत्व सुशीला कार्कीले गरेकी थिइन् । व्यवस्थापिका संसदको नेतृत्व ओनसरी घर्तीले गरिरहेकी छन् भने मुलुककै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी भएकी छन् । तर प्रधानमन्त्रीको कुर्सीमा भने महिलाहरु पुग्न सकेका छैनन् । यो बिडम्बनापूर्ण कुरा पनि हो ।

यही बीचमा पछिल्ला वर्ष नेपालको पहिलो महिला प्रधानमन्त्री को होला ? यसमा मुलुकको नेतृत्व गरिरहेका राजनतिक दलको नेतृत्व कतिको सक्षम रहेको छ ? भन्ने विषयमा समेत बहसहरु भैरहेका छन् । कतिपयले राजनीतिक दलको शीर्ष नेताहरुकै परिवारका महिला सदस्यहरुलाई समेत आँकलन गरिरहेको अवस्था छ ।

यो विषयको बहस उठानसँगै अबका केही वर्षमा मुलुकमा महिलाहरुले सरकारको नेतृत्व गर्ने सम्भावना नजिकिदै गएको आभास हुदै गएको छ । दलहरुभित्र देशको प्रधानमन्त्री पदमा बसेर समग्र मुलुक हाँक्न सक्ने महिला नेतृहरु कति छन् र उनीहरुले कत्तिको नेतृत्व विकास गरेका छन् ? यसबेला यो सवालमा समेत बहस भैरहेको छ ।

कुन दलमा कस्ता छन् महिला नेतृ ?
नेपालका प्रभावशाली मुख्य तीन दलभित्र केही महिला नेतृहरु मुलुकको प्रधानमन्त्री चलाउने हैसियतामा पुगिसकेको देखिन्छ । जस्तै, नेपाली कांग्रेस, एमाले र माओवादीभित्र यस्ता केही महिला नेतृहरु देखिन्छन् । तर ती दलमा यस्ता महिला नेतृ औंलामा गन्न सकिने मात्र छन् ।

नेपाली कांग्रेसभित्र अहिले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणालाई समेत मुलुकको भावी महिला प्रधानमन्त्रीको रुपमा समेत हेरिन थालेको छ । भनिन्छ, प्रधानमन्त्री देउवाले पत्नी आरजुलाई भूगोलको राजनीतिक पृष्ठभूमीबाट उठाउने कोसिस गरिरहेका छन् । उनले पश्चिमका बर्दिया लगायतका जिल्लाबाट संसदीय चुनाव लड्ने तयारी गरिरहेकी छन् ।

राणा खान्दानमा हुर्किएकी डा.आरजुले उच्च शिक्षा मात्र हाँसिल गरेकी छैनन् परराष्ट्र मामलामा समेत दख्खल राख्ने गर्छिन् । उनी सामाजिक अभियन्ता समेत हुन् । उनी अहिले पनि व्यवस्थापिका संसदको सदस्य रहेकी छन् ।

त्यस्तै,नेपाली कांग्रेसभित्रै सुजाता कोइराला लगायतका नेतृहरु पनि मुलुकको नेतृत्व गर्ने क्षमतावान महिला नेतृको रुपमा स्थापित भैसकेका छन् । तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता, जसलाई त्यो बेलामा पनि गिरिजाले मुलुककै पहिलो महिला प्रधानमन्त्री बनाउने हरदम कोशिस गरेका थिए तर त्यो प्रयास सफल हुन सकेको थिएन ।

सुजाता त्यसबेला उपप्रधानमन्त्रीसम्म बन्न सफल भएकी थिइन् । त्यस्तै कांग्रेसभित्र चित्रलेखा यादव लगायतका नेतृहरु पनि मुलुकको पहिलो महिला प्रधानमन्त्री हुन योग्य नेतृका रुपमा चिनिन्छन् ।

त्यस्तै,मुलुकको प्रभावशाली दल नेकपा एमाले, जो स्थानीय तहको निर्वाचपछि मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल पनि बनेको छ । सो पार्टीमा पनि मुलुक हाँक्न सक्ने महिला नेतृहरु रहेका छन् । यसअघि सबैभन्दा प्रभावशाली महिला नेतृका रुपमा रहेकी विद्यादेवी भण्डारीलाई एमालेले राष्ट्रपतिका लागि सिफारिस गरेर, उनी अहिले त्यो नेतृत्वमा रहेकी छन् ।

त्यस्तै सो पार्टीभित्र नेतृ अष्टलक्ष्मी शाक्य लगायतका महिला नेतृहरु पनि सरकारको नेतृत्व गर्न सक्ने क्षमतावान महिला नेतृहरुमा पर्दछन् । यद्यपि,एमालेभित्र शाक्यको त्यति धेरै प्रभाव रहेको छैन ।

उता,नेकपा माओवादी केन्द्रमा पनि केही महिला नेतृहरुले मुलुक हाक्न सक्ने स्तरमा नेतृत्व विकास गरिसकेका छन् । माओवादीले यसअघि ओनसरी घर्तीलाई सभामुखको जिम्मेवारी पठाइसकेको छ । त्यस्तै सो पार्टीमा पम्फा भुसाल, शशी श्रेष्ठ लगायतका नेतृहरु पनि मुलुक हाँक्न सक्ने स्तरमा देखिन्छन् ।

त्यस्तै माओवादीबाटै फुटेर गएको नयाँ शक्ति पार्टीका हिसिला यमी लगायतका नेतृहरुले समेत त्यो क्षमता राख्छन् । तर यमी आबद्ध रहेको पार्टी नेपालको राजनीतिक सतहमा नै नदेखिएकोले उनी महिला प्रधानमन्त्री बन्ने सम्भावना निकै कम छ । यद्यपि, यमीको सवालमा अन्य कमजोरीहरु समेत बाहिर आएकोले उनलाई क्षमता भएर पनि प्रधानमन्त्रीको जिम्मेवारी पठाइहाल्न नसकिने एकथरी विश्लेषकहरुको भनाई छ ।

त्यस्तै, प्रचण्ड नेतृत्वको माओवादीभित्र नेतृत्व विकास र वंशवादको राजनीतिक प्रवृत्तिको कुरा पनि उठ्न थालेको छ । माओवादी अध्यक्ष प्रचण्डले भरतपुरमा छोरी रेणु दाहालको सफलतापछि उनले अब रेणुलाई राष्ट्रिय राजनीतिमा ल्याउने तयारी गरिरहेको र मुलुकको पहिलो महिला प्रधानमन्त्री बनाउने भित्री तयारी गरिरहेको समेत बताइन्छ ।

त्यसैले यसबाट के बुझिन्छ भने सबै पार्टीहरुमा क्रमिक रुपमा महिला नेतृत्व विकास भैरहेको र त्यसले भोलीका दिनमा को पहिले मुलुकको पहिलो महिला प्रधानमन्त्री बन्ने भन्ने कुरामा होडबाजी नै चल्ने देखिन्छ । यसले एकपटक फेरि मुलुकको सरकार निर्माणको खेलमा चर्को प्रतिस्पर्धा हुने र अस्वस्थ प्रतिस्पर्धा समेत निम्त्याउन सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।