स्वास्थ्य

सेनाले कस्तो क्षेत्रीय अस्पताल बनाउने ? पोखरा र इटहरीमा !

काठमाण्डौ, २२ साउन । नेपाली सेनाको सैनिक कल्याणकारी योजना निर्देशनालयले पश्चिमाञ्चलको पोखरा र पूर्वाञ्चलको इटहरीमा क्षेत्रीय अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ ।
संघीय संरचनामा मुलुक गइसकेको अवस्थामा आफ्ना सुविधालाई पनि सोही अनुसार विकेन्द्रीत गर्दै लैजाने उद्देश्यका साथ निर्देशनालयले चालू आर्थिक वर्षमा पोखरा र इटहरीमा क्षेत्रीय अस्पताल बनाउन लागेको हो । सैनिक मुख्यालय भद्रकालीमा आज पत्रकार सम्मेलन गरी निर्देशनालयले यस्तो जानकारी दिएको हो ।

त्यसैगरी सर्वसाधरण तथा जेष्ठ नागरिक समेतलाई निशुल्क स्वास्थ्य परीक्षण सुविधा उपलब्ध गराउने गरी निर्देशनालयले काठमाडौंको शंखमुलमा सामूहिक चिकित्सा केन्द्र भवन निर्माण गर्ने भएको छ ।सैनिक कल्याणकारी कोष अन्तरगत ६ वटा सैनिक आवासिय महाविद्यालय, २ सैनिक महाविद्यालय, १ छात्रावास तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तरगत चिकित्साशास्त्र महाविद्यालय र नर्सिङ्ग महाविद्यालय संचालनमा छन् ।

कोषले निकट भविष्यमा कलेज अफ मेडिकल पोलिटेक्निक संचालनमा ल्याउने योजना पनि लिएको छ । कोषले वहालवाला र सेवानिवृत्त सैनिकहरुका लागि स्वास्थ बीमा, दुर्घटना बीमा, सहुलियत ऋण, पारिवारिक आवास सहुलियत लगायत सेवा प्रदान गर्दै आएको छ ।