पु.समाचार

भरतपुरमा महिलाले रचे इतिहास ! एसियाकै नमूना शहर बनाउने रेणुको उद्घोष !

भरतपुर, २२ साउन । गएराति सम्पन्न मतगणनापछि भरतपुरमा आज दिनभर विजय उत्सवले उत्कर्ष रुप लियो । देशकै पहिलो महानगरमा प्रमुख उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएपछि भरतपुरले छुट्टै इतिहास रचेको भन्न सकिन्छ ।

चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएसँगै दुवै पार्टीले संयुक्त विजयी र्याली निकाले । संयुक्त गठबन्धन बनाएर चुनाव लडेका दुवै पार्टीले चुनाव जितेसँगै महानगरपालिकामा आज मध्यान्ह र्याली निकालेका हुन् । हजारौंको सहभागिता रहेको र्याली चौबिसकोठीबाट लायन्सचोक, सहिद चोक हुँदै पुल्चोक पुगेको थियो । नारायणगढ हुँदै रयाली पुन चौबिसकोठीमा आएर टुंगिएको थियो ।
२० बर्षपछि भएको यो ऐतिहासिक निर्वाचनले भरतपुरमा छुट्टै स्थान बनाएको छ । यो परिणाममा प्रचण्डपुत्रीलाई बिभिन्न आक्षेप आइरहेका भएपनि धेरैले उनको संघर्षको उपलब्धिका रुपमा स्विकारेका छन् । हुन पनि देशमा चलेको १० बर्षे सशस्त्र माओवादी द्धन्द र २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा पनि यसलाई हेर्न सकिन्छ । गत जेष्ठको दोस्रो हप्ता नै सबै मतपरिणाम आइसक्ने भएपनि भरतपुर वडा नम्बर १९ मा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि दुई महिना ढिला गरी परिणाम सार्वजनिक भएको हो ।

गत वैशाख ३१ मा चुनाव भए पनि जेठ १४ गते १९ नम्बर वडाको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि गणना रोकिएको थियो । सर्वाेच्च अदालतको आदेशअनुसार गत २० गते शुक्रबार पुनः मतदान भएको थियो । शनिबार राति मत परिणाम आएसँगै मेयरमा दाहाल र उपमेयरमा शाह विजयी भइन् । दाहाल एमालेका देवी ज्ञवालीलाई २ सय ३ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

यसैबीच, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गरिने बताएकी छिन् । निर्वाचनमा विजय भएपछि आयोजित पदयात्रामा सहभागीलाई सम्बोधन गर्दै उनले प्राकृतिक सम्पदा र सुगमताका हिसाबले महत्वपूर्ण क्षेत्र भरतपुर नगरवासीको सुझाव र सल्लाहअनुरुप नै आफू अघि बढ्ने बताइन् । कार्यक्रममा नगर उपप्रमुखमा विजयी पार्वती शाहले जनताले दिएको मतको कदर गर्दै अबको पाँच वर्षमा नमूना नगर बनाउन आफूहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।