समाचार

‘नीतिनिर्माण तहमा महिलाको समान सहभागिता गराउन एमाले प्रतिबद्ध’

काठमाडौँ, २२ साउन । ‘दक्षिण एशियाली महिला सम्मेलन–२०१७’ आजदेखि यहाँ सुरु भएको छ ।

अखिल नेपाल महिला संघले दक्षिण एशियाका स्थानीय सरकारमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरेको सो सम्मेलनको उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  नेपालले छोटै समयमा महिला उत्थानको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकामा खुशी व्यक्त गरे ।

अध्यक्ष ओलीले नीतिनिर्माण तहमा महिलाको समान सहभागिता गराउन आफ्नो पार्टी प्रतिबद्धता छ भन्दै महिला सशक्तीकरणका क्षेत्रमा काम भइरहेको हुँदा महिला अधिकारकर्मीलाई निराश नहुन आग्रह गरे । सामाजिक न्यायसहितको विकासका लागि पनि राज्यका सबै तहमा महिलाको समान सहभागिता हुनुपर्नेमा आफ्नो पार्टी सचेत रहेको उनको भनाइ थियो ।

दुईदिने सम्मेलनमा सार्कका नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, बंगलादेश, श्रीलंका र अफगानिस्तानका महिला सांसद, नागरिक समाजका अगुवा र महिला अधिकारकर्मीसहित करिब ७० जनाको सहभागिता छ । स्थानीय सरकारमा महिला सहभागिताका विषयमा बहस गर्न र दक्षिण एशियाली महिलाको राजनीतिक अधिकारका लागि संघर्षरत महिला राजनीतिककर्मी तथा अधिकारकर्मीप्रति ऐक्यबद्धता जनाउन सम्मेलन आयोजना गरिएकोे बताइएको छ ।